नेपालगन्ज १७ साउन : छिमेकी राष्ट्र भारतको महाराष्ट्रमा एक १२ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको पाइएकोछ ।
महाराष्ट्र राज्यको थाने जिल्लामा १२ वर्षीया ती नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले बुधबार जनाएका छन् ।
ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति भर्ना गरिएसँग घटनाबारे जानकारी भएको हो । प्रहरीका अनुसार, ती बालिका परिवारका साथमा केही काम गरेर गुजारा चलाउन नेपालबाट त्यहाँ पुगेकी थिइन् । उक्त परिवार बादलपुर इस्टको कन्स्ट्रक्सन साइटको एउटा कोठामा बस्दै आएको थियो ।
गएको जुनमा एक मानिस ती बालिका कोठामा एक्लै भएको अवस्थामा भित्र गएर बलात्कार गरेको एआईआरलाई उद्धृत गर्दै अधिकारीहरूले बताएका छन् । त्यो मानिसले घटनाबारे कसैलाई भनेमा मारिदिने धम्की दिएको बताइएको छ । आफूमाथि अर्को आक्रमण नहोस् भनेर ती बालिका मौन बसेको जनाइएको छ ।
जुलाई १९ मा उनलाई अस्पतालमा भर्ना गरिएपछि गर्भवती भएको पत्ता लागेको थियो । त्यसपछि बालिकाकी आमा स्थानीय बादलपुर प्रहरी स्टेसनमा गएकी थिइन् । त्यहाँ भारतीय पेनल कोड र प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेज कानुनअन्तर्गत बलात्कार मुद्दा दर्ता गरिएको थियो । घटनाबारे छानबिन भइरहेको जनाइएको छ ।