नेपालगन्ज २० साउन : नेपाल नेत्रज्योति सङ्घ बाँकेद्वारा सञ्चालित नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालमा भारतीय नागरिकको आकर्षण घट्दै गएको पाइएकोछ ।
यो पनि पढ्नुहोस फत्तेबाल आँखा अस्पतालमा एक लाख बढीको आँखा उपचार
नेपाली नागरिकभन्दा भारतीय नागरिकको आकर्षणमा रहेको फत्तेबाल अस्पतालमा पछिल्लो समयमा भने तुलनात्मक रूपमा उपचार गर्न आउने भारतीय नागरिकको सङ्ख्या घट्दै गएको र नेपाली नागरिकको सङ्ख्या बढ्दै गएको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिए ।
अस्पतालले प्रदान गर्ने उच्चस्तरीय सेवा तथा आँखा उपचारमा नेपाली नागरिकको सहज पहुँच भएका कारण पहिलाभन्दा अहिले नेपाली सेवाग्राहीको अनुपात बढेको उनको भनाइ छ ।
भारत सरकारले त्यहाँका नागरिकलाई विभिन्न योजना बनाएर निःशुल्क रूपमा स्वास्थ्य उपचार गर्न सुरु गर्नु तथा कोभिड समयमा नियमित रूपमा त्यहाँका नागरिक यहाँ आउन नपाउनु र त्यतैका स्वास्थ्य संस्थामा जाँच गराउँदा पछिल्लो समयमा भारतीय नागरिकको आउने सङ्ख्या क्रमशः कमी हुँदै गएको उनले जानकारी दिए ।
नेपालका लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारत उत्तर प्रदेश राज्यका बहराइच, गोन्डा, श्राबस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनऊ, अयोध्या, फैजावाद तथा सुल्तानपुरलगायतका जिल्लाबाट आँखाका बिरामीले सो अस्पतालबाट सेवा लिने गरेको डा. बर्माको भनाइ छ ।
अस्पतालले स्वास्थ्य बीमा बोर्डसँग आव २०८१÷८२ देखि पाँच वर्षसम्मका लागि लागु हुने गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरिसकेको हुनाले आगामी दिनमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको छ ।
अस्पतालको सुरुवातमा १० शय्या क्षमता रहेको अस्पतालमा हाल २५० शय्याभन्दा बढी क्षमतामा सञ्चालन भइरहेको छ । अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालन भइरहेका छन् ।
अस्पतालले स्थापनाकालदेखि गत आवसम्ममा २७ लाख ९० हजार ९६० जना नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ भने दुई लाख ८२ हजार ४९४ जनाको आँखाको शल्यक्रिया गरेको प्रबन्ध निर्देशक डा. बर्माले जानकारी दिए ।