सेफ नेपालका संस्थापक अध्यक्ष सुकलाल वादीद्वारा करोडौं मूल्यको घर–जग्गा श्रीमतीको नाममा नामसारी

सोही जग्गा धितो राखि बैंकबाट एक करोड ५० लाख ऋण निकाले, प्रहरी–प्रशासनले असहयोग गरेको संस्थाको गुनासो 


विजय मल्ल विजय मल्ल   सोमबार, साउन २१, २०८१
सेफ नेपालका संस्थापक अध्यक्ष सुकलाल वादीद्वारा करोडौं मूल्यको घर–जग्गा श्रीमतीको नाममा नामसारी

नेपालगन्ज २१ साउन : संस्थामा २० वर्ष अघिदेखि भ्रष्टाचार गर्दै आएका शिक्षाका लागि सामाजिक जागरण (सेफ) नेपाल संस्थापक तथा पूर्व अध्यक्ष सुकलाल नेपाली(वादी)ले करोडौं भ्रष्टाचार गरेको भेटिएको छ ।

वादी, दलित, विपन्न र सिमान्तकृत जातीको क्षेत्रमा तीन दशक बढी लामो समयदेखि क्रियाशील बाँकेको नेपालगन्जमा रहेको सेफ संस्थाको करोडौं मूल्य पर्ने घर जग्गा नै किर्ते गरि व्यक्तिको नाममा नामसारी गरीएको छ ।

शिक्षाका लागि सामाजिक जागरण (सेफ) नेपाल संस्थाका संस्थापक तथा पूर्व अध्यक्ष वादीले आफु अध्यक्ष रहदा संस्थाको नाममा रहेको ४ कठ्ठा जमिन त्यसमा बनेको पक्कि घर आफ्नो श्रीमती रिना वादीको नाममा पास गरिदिएको सेतोखरीलाई प्रमाण फेला परेको हो ।

Rina_Badi_sef_nepal_jagga-1-1722826910.jpg
सेफ नेपालका संस्थापक अध्यक्ष सुकलाल वादीले किर्ते गरि आफ्नी श्रीमती रिना वादीको नाममा पास गरिदिएको संस्थाको ४ कठ्ठा जमिनको लालपुर्जा ।

Kanti Aarogya Hospital Nepalgunj

संस्थाका संस्थापक अध्यक्ष सुकलालले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६, फुल्टेक्राको एकतानगरमा स्थित सेफ नेपालको नाममा रहेको ४ कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुई तल्ले घरसहित आफ्नो श्रीमती रिना वादीको नाममा पास गराएका हुन् । सुकलाल र उनकी श्रीमतीले सोही जग्गा बैंकमा धितो राखि एक करोड ५० हजार ऋण निकालेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा २०४९ कार्तिक २५ गते (संस्था दर्ता नम्बर २९/०४९–५०) दर्ता भएको सेफ संस्थाको सुकलाल संस्थापक अध्यक्ष हुन् । उनी तीन दशक बढी लामो इतिहास बोकेको यो संस्थामा पटक–पटक अध्यक्षको जिम्मेवारीमा रहे ।

पछिल्लो पटक उनी सेफको अध्यक्ष हुँदा आफू अनुकुल, आफ्ना परिवारका सदस्य, नातागोतालाई संस्थाको कार्यसमितिमा राखेर संस्थाका चलअचल सम्पत्ती अपचलन गर्नुका साथै नेपालगन्जमा रहेको करोडौं मूल्य पर्ने उक्त जमिन आफ्नी श्रीमतीको नाममा सुटुक्क पास गराएका हुन् । 

Sef_Nepal_jagga_rina_5-1722826943.jpg
सेफ नेपालको ४ कठ्ठा जग्गा २७ लाखमा किनेको भनि सुकलालकी श्रीमती रिना वादीले मालपोतमा बुझाएको ६० हजार करको रसिद ।

सोसियल अवेयरनेस फर एजुकेसनल, अर्थात शिक्षाका लागि सामाजिक जागरण, (सेफ) नेपालको प्रतिनिधी बन्दै सुकलालले २०७५ असार २१ गते विहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ (हाल ६), फुल्टेक्राको एकतानगरमा रहेको ११ ‘क’ कि.नं. १३०२ को ४ कठ्ठा जग्गा २७ लाखमा बर्दिया पाताभार–२, की ४६ वर्षीया रिना वादीलाई राजिनामा गरिदिएको मालपोत कार्यालय बाँकेको राजिनामा पत्रमा उल्लेखछ । रिना वादी सुकलालकी श्रीमती हुन् । 

शक्ति र बहुमतको आडमा श्रीमती रिना वादीको नाममा जग्गा विक्री गर्दा सुकलाल वादी सेफका अध्यक्ष थिए । उनले सो बेला संस्थाको बैठकमा किर्ते हस्ताक्षर गराएर निर्णय गर्दै उक्त जमिन आफ्नो श्रीमतीको नाममा गराएका हुन् । 

Sef_nepal_rajinama_jagga-3-1722826965.jpg
सेफ नेपालको ४ कठ्ठा जग्गा विक्री गर्दा गरिएको राजिनामा पत्र । उक्त पत्रमा सुकलाल वादी संस्थाकातर्फबाट प्रतिनिधि भएर हस्ताक्षर गरेका थिए ।

सेतोखरीलाई प्राप्त प्रमाण अनुसार, भूमी सुधार तथा व्यवस्थापन विभाग, मालपोत कार्यालय नेपालगन्ज बाँकेको राजिनामा रजिष्ट्रेशन नं. १४/क मा संस्था(सेफ)को चलानी नं. ९३ मिति २०७५/३/२१ को संस्थाका प्रतिनिधी(सुकलाल नेपाली) खटाई २७ लाख रुपैयाँमा मिति २०७५ साल जेठ २ गतेको संस्थाको माइन्युट, चलानी नम्बर ११८४२, २०७४ वैशाख २० गते चुक्ता प्रमाणित तथा २०७५ वैशाख १६ गते ०७४/०७५ सालको तिरो तिरेको नम्बर ९१५६ को रसिद नम्बर उल्लेख गरिएकोछ । 

उक्त राजिनामा अनुसार, लिने र दिने मैले चिनेको नेपाली नागरिक हुन, नाम, थर, वतन ठिक छ भनी फरक परे कानून बमोजिम सजाय भए मन्जुरी छ भनि सनाखत गर्ने साक्षीमा सुर्खेत छिन्छु–७ बस्ने जिउली बादी, बाँके नेपालगन्ज–१३ का हेमन्त सिंह साउद र नेपालगन्ज–५ का हेमबहादुर रावत रहेकाछन् । 

यस्तै साक्षीमा सुर्खेत छिन्छु–७ बस्ने ३० वर्षीया जिउली वादी(ना.नं.१९७६, २०४४/१२/२१ सुर्खेत) बाँके नेपालगन्ज–१३ बस्ने हेमन्त सिंह साउद (ना.नं.६६१०१९/१५४३, २०६६/३/२४ बाँके) रहेका छन् भने लेखापढीको काम भुवन केसी (प्र.प.नं.२७१) रहेकाछन् । जिउली वादी नातामा सुकलालकी दिदी पर्छिन् ।

Sef_Nepal_orginal_jagga_7-1722827001.jpg
सेफ नेपालको नाममा रहेको ४ कठ्ठा जग्गाको सक्कली लालपुर्जा ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ का वडा अध्यक्ष समिर प्रताप सिंहले वडा कार्यालयको २०७५ जेठ २२ गतेको चलानी नं. ६८७ को पत्र मार्फत उल्लेखित जग्गामा घर नभएको तथा बाटो पनि नभएको व्यहोरा रजिस्टेसनका लागि सिफारिस गरिदिएकाछन् । जबकी उक्त जग्गामा दुई तले भवन पहिलेदेखिनै निर्माण भएको अवस्था थियो । 

उक्त जमिन संस्थाका लागि भन्दै विदेशी नागरिक सनन मिलर र केट मिलरले जग्गा खरिदका लागि रकम दिएका थिए । संस्थाले मिलरद्वय दम्पत्तीले प्रदान गरेको रकमबाट सो स्थानमा जग्गा खरिद गरेका थियो ।

२०७५ जेठ २ गते बसेको संस्थाको बैठकबाट जग्गा विक्री गर्ने निर्णय भएको छ । उक्त बैठकमा तपशिलका पदाधिकारी तथा सदस्यहरु रहेका थिए । भने उनीहरु सबैको हस्ताक्षर समेत रहेकोछ । यद्यपी माइनटमा गरिएको अधिकांस हस्ताक्षर भने किर्ते रहेको छ ।
अध्यक्षः सुकलाल वादी
उपाध्यक्षः जिउली वादी
महासचिवः कल्पना नेपाली
सचिवः हिक्मत नेपाली
कोषाध्यक्षः गोपाल नेपाली ‘क’
सदस्यः विष्णु नेपाली
सदस्यः कमल नेपाली
सदस्यः प्रकाश नेपाली
सदस्यः गोपाल नेपाली ‘ख’
सदस्यः छिता नेपाली
सदस्यः विनोद नेपाली
सदस्यः तिलक परियार
सदस्यः कमला नेपाली

जग्गा बेचेको रहस्य यसरी खुल्यो 

सुकलाल वादीले २०८० असार २ गते वादी समुदायका युवा अभिषेक नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिदिए । नेतृत्वमा आएको नयाँ टिमले संस्थालाई गतीशिल दिन थाले । संस्थाले एक दातृ निकायसंग लामो समयसम्म चल्ने एउटा प्रोजेक्टका लागि सम्झौता गर्न पक्कापक्की भयो । त्यसका लागि दातृ निकायले अडिट रिर्पोट, जग्गाको लालपुर्जा लगायतका कागजात माग्यो । 

Sef_Nepal_jagga_rajinama-8-1722827042.jpg
सेफ नेपालको नाममा रहेको ४ कठ्ठा जग्गा लिखित पारित गराउन मालपोतमा पेस गरेको पत्र ।

त्यो सबै जुटाउन खोज्दा संस्थापक अध्यक्ष समेत रहेका निर्वतमान अध्यक्ष सुकलाल वादीले वर्तमान कार्यसमितिलाई लालपुर्जा हराएको भन्दै ढाँट्न थाले । कहिले आनाकानी गर्दै पछि दिन्छु, ल्याइदिन्छु, विस्तारै दिन्छु भन्दै तर्किन थाले । कहिले सम्पर्कमै आएनन् । 

सेफका वर्तमान अध्यक्ष अभिषेक नेपालीले संस्थाका संस्थापक व्यक्ति वादी समुदायको उत्थान र परिर्वतनका लागि लामो संघर्ष गरेको सम्मानित ब्यक्ति भएकाले उनीप्रति शंका गर्ने ठाउँ नै भएन् । तर, उनका पछिल्ला गतिविधि शंकास्पद भएपछि अभिषेकले कुनै माध्यमबाट संस्थाको नाममा रहेको पुरानो लालपुर्जाको कपी फेला पारे । उक्त लालपुर्जाको कपी लिएर मालपोतमा गएर बुझ्दा संस्थाको नाममा रहेको जग्गा पाँच वर्ष अघि नै रिना वादीको नाममा विक्रि भएको रहस्य फेला पारे ।

‘संस्थाको नाममा रहेको जग्गा व्यक्तिको नाममा कसरी गयो, यो सुन्दा छाँगाबाट खसे झैं भए’ वर्तमान सेफका अध्यक्ष अभिषेक नेपालीले अगाडी थपे–‘संस्थाको नाममा रहेको जग्गा माइनुट किर्ते गरेर सुकलाल वादीले आफ्नो श्रीमती रिना वादीलाई २७ लाखमा बेचेको पाइयो ।’

उजुरी दर्ता गराउन जिप्रकादेखि सिडियो कार्यालय सम्म सास्ती

सेफका संस्थापक अध्यक्ष सुकलाल वादीले संस्थाको जग्गा किर्ते हस्ताक्षर गरेर आफ्नो श्रीमतीको नाममा विक्रि गरेको घटनामाथि छानविन गरि कानूनी कारबाहीका लागि पछिल्लो तीन महिनादेखि वर्तमान समिति प्रयासरत छ । तर, उनीहरुको उजुरी दर्ता हुनु त परको कुरा यस विषयमा कुनै सुनुवाई समेत हुन सकेको छैन ।

कहिले जिल्ला प्रहरी कार्यालय, कहिले जिल्ला प्रशासन कार्यालय त कहिले सरकारी वकिलको कार्यालय धाउँदा समेत कुनै कारबाही अघि नबढेको सेफका अध्यक्ष अभिषेक नेपालीले सेतोखरीसँग बताए । 

Sef_Nepal_jagga_4-1722827074.jpg
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ र वडा नम्बर–७ को कार्यालयले गरेको सिफारिस पत्र ।

उनले भने–‘संस्थाको जग्गा विक्रि गरेका सुकलाललाई कारबाही गर्न र जग्गा फिर्ता लिन सिडियो अफिस गयौं सबै बतायौं यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन भन्दै उनीहरुले प्रहरीकहाँ पठायो । प्रहरीकहाँ पुगेर सबै कुरा बतायौं जाहेरी दर्ता गराउन खोज्यौं यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन सिडियो अफिस जानु भने फेरी त्यहाँ गयौं ।’

अध्यक्ष अभिषेकले अगाडी थपे–‘दोस्रो पटक सिडियो अफिस पुग्यौं त्यहाँ पनि फेरी कानूनी उल्झनका कुरा आए । हामी सरकारी वकीलको कार्यालय गायौं त्यहाँबाट फेरि सिडियो अफिस पठाइयो ।’

न्याय पाउने आशामा विभिन्न कार्यालय भौतारिरहेको अध्यक्ष अभिषेक नेपालीसहितको टिमको बारेमा थाहा पाएपछि सेफका संस्थापक अध्यक्ष सुकलाल वादी स्वयम सिडियो कार्यालयमा उपस्थित भए । 

‘उनले गल्ती गरेको स्विकारे, श्रीमतीलाई बेचेको उक्त जग्गा बैंकमा राखेर एक करोड ५० लाखको ऋण लिएको र उक्त रकम विस्तारै तिरेर जग्गा फिर्ता गर्ने कागजी सहमती गर्ने राय बनाए’ अध्यक्ष अभिषेक नेपालीले भने ।

Sef_Nepal_jagga_bhawan-3-1722827125.jpg
सेफ नेपालको नाममा रहेको ४ कठ्ठा जग्गामा बनेको दुई तले घर र वर्तमान सेफका अध्यक्ष अभिषेक नेपाली ।

सिडियो कार्यालयमै सहमतीको कागज गर्न खोज्दा प्रमुख जिल्ला अधिकारीले सहमतीको कागज गर्न नमिल्ने बताएपछि सुकलाल वादीसँग जग्गा फिर्ता ल्याउने प्रयास असफल बन्दै गएको अध्यक्ष अभिषेकले बताए । 

संस्थाको जग्गा बेचेर एक करोड ५० लाख ऋणमा सुकलालको मस्ती

सेफका संस्थापक तथा निर्वतमान अध्यक्ष सुकलाल नेपालीले संस्थाको नाममा रहेको ४ कठ्ठा जमिन आफ्नो श्रीमती रिना वादीलाई विक्री गरिदिएको उक्त जग्गा बैंकमा राखि एक करोड ५० लाख ऋण लिएको पाइएकोछ । 

सुकलालले आफ्नी श्रीमती रिना वादीको नाममा जग्गा पास गरिदिएको एक वर्षपछि ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाबाट एक करोड ५० लाख रुपैयाँ एनआइसी एसिया फाष्ट ट्रयाक व्यवसाय कर्जा लिए । उनको जैविकमार्ग सप्लायर्स नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जमा ३०२८५/०७६/०७७ दर्ता भएकोछ ।

Sef_Nepal_jagga_bank-1-1722827098.jpgएनआइसी एशिया बैंक कम्दीबाट ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाबाट सुकलालले लिएको एक करोड ५० लाख ऋणको कागजात ।

२०७७ कार्तिक महिनाको बेस दर र प्रिमियम दर गरि कुल वार्षिक ८ दशमलव २५ प्रतिशत व्याज तिर्ने गरि एक करोड ५० लाख ऋण लिएको बैकको कर्जा सुविधा स्वीकृत/संसोधन पत्रमा उल्लेखछ । सुकलाल वादी प्रोप्राइटर रहेको जैविकमार्ग सप्लार्यस नामक संस्थालाई ऋण प्रवाह गर्दा प्रमाणित गर्ने एनआइसी एशिया बैंकका सम्बन्ध प्रबन्धक दीपकबहादुर चन्द र शाखा प्रमुख ज्ञानेन्द्र कुमार जयसवाल रहेकाछन् ।

एनआइसी एशिया बैंक डुडुवा शाखाबाट निकालिएको उक्त ऋणबाट सुकलालले नेपालगन्ज लगायतका क्षेत्रमा जग्गा खरिद गरे, कारकाँदोमा कान्छा छोराका लागि मोबाइल पसल खोलिदिए र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ (साविक ८) गगनगञ्जमा एक तले सुविधासम्पन्न घर निर्माण गरेका छन् । चतुर सुकलाल वादीले आफ्नो नाममा श्रीसम्पत्ती जोडेका छैनन् । उनले आफ्नो श्रीमती, बुहारी र छोराको नाममा सम्त्ती जोडेकाछन् । 

Sef_Nepal_jagga_bhawan-1-1722827142.jpg
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ फुल्टेक्रा स्थित एकतानगरमा रहेको सेफ नेपालको ४ कठ्ठा जग्गामा बनेको दुई तले भवन ।