बाँके प्रशासनबाट ‘हाई अलर्ट’को सूचना जारी


सेतोखरी सेतोखरी   मंगलबार, साउन २२, २०८१
बाँके प्रशासनबाट ‘हाई अलर्ट’को सूचना जारी

नेपालगन्ज २२ साउन : आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँके लगायतका स्थानमा भारी वर्ष हुने पूर्वानुमान भएसँगै बाँकेमा सावधानी अपनाउन र सतर्क रहन ‘हाई अलर्ट’को सूचना जारी गरिएको छ । 

वर्षाको उच्च जोखिममा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासी पश्चिम रहेको पूर्वानुमान सार्वजनिक भएसँगै बाँके प्रशासनले जिल्लामा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सबै निकायलाई सूचना गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रशासन कार्यालय बाँकेले मनसून न्यून चापीय रेखा साउन २३ गतेसम्म नेपालमा मनसून सक्रिय हुने र बाँके जिल्ला लगायतका क्षेत्रहरू खतराको वर्गमा परेको देखिएको भन्दै जिल्ला स्थित सबै स्थानीय तहहरु, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, स्थानीय आपतकालीन कार्य संचालन केन्द्र र अन्य सरोकारवाला तथा सम्वद्ध सबै सरकारी-गैरसरकारी कार्यालय र संघसंस्थाहरुलाई सतर्क रही तयारी अवस्थामा रहन आग्रह गरेको छ । 

प्रशासनले राप्ती, डुडुवा लगायत नदी तटीय क्षेत्रका साथै बाढी तथा डुवानको दृष्टिकोणले संवेदनशील अन्य क्षेत्रमा बसोवास गर्ने सबै सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा रहन र सावधानी अपनाउन समेत सूचित गरेको छ ।

महाशाखाका अनुसार सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

मङ्गलबार रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाकको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ ।

२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ भने १०० मिलिमिटरदेखि २०० सम्म पर्नुलाई धेरै भारी वर्षा भएको मानिन्छ । यसले खतरा निम्त्याउँछ ।

महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ ।

महाशाखाले विषेध बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।