नेपालगन्ज २२ साउन : जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने बताएको छ । अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ ।
प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ ।
भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
बाढीको समयमा दाउरा निकाल्न तथा माछा मार्नको लागि नदीमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ । अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, सिन्धुपाल्चोक, चितवन, दोलखा, धादिङ, नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ । त्यस्तै म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोखरामा पनि उच्च जोखममा रहेको विभागले जनाएको छ ।
कपिलवुस्त, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा छन् ।
विभागले जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद सम्बन्धी काम गर्ने साझेदार संस्थाहरुले जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वयमा रहन, भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरुमा जुनसुकै बेला विपद आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायहरु तयारी अवस्थामा रहन, भारी वर्षाको अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दाहरु चनाखो रहन, सुरक्षा निकाय, एम्बुलेन्स लगायतका जरुरी टेलिफोन नम्बरहरु राख्न आग्रह गरेको छ ।