काभा वुमन्स नेसन्स लिग : उपाधिका लागि नेपाल भारतसँग भिड्दै


सेतोखरी सेतोखरी   बुधबार, साउन २३, २०८१
काभा वुमन्स नेसन्स लिग : उपाधिका लागि नेपाल भारतसँग भिड्दै

नेपालगन्ज २३ साउन : घरेलु कोर्टमा भइरहेको काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दैछ ।

फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका हुन् ।

यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो ।

Kanti Aarogya Hospital Nepalgunj

लिग चरणको प्रदर्शनलाई कायम राख्दै भारतलाई फेरि हराएर नेसन्स लिगको उपाधि घरमै राख्ने नेपालको लक्ष्य छ । त्यो लक्ष्यबाट नेपाल अब एक कदम मात्र मात्र टाढा छ । उता पहिलो पटक नेपालसँग पराजित भएको भारत पनि फाइनलमा त्यसको बदला लिंदै उपाधि जित्ने लक्ष्यमा छ ।

लिग चरणमा नेपाल र भारतबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । जहाँ नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, २५–१८, १५–१३ ले पराजित गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल संघले जनाएको छ ।

नेपाल र भारतको फाइनल यात्रा

नेपाल र भारत फाइनल पुग्दा अहिलेसम्म दुवैले समान ५ खेल खेलेका छन् । जसमा दुवैले ४ खेल जित्दा १ खेलमा पराजित भएका छन् । नेपाल लिग चरणमा इरानसँग पराजित भएको थियो भने भारतलाई लिगमा नेपालले हराएको थियो ।

यस्तै पाँच खेलमा १४ सेट जित्दा ५ सेट गुमाएको छ । उता भारतले पनि १४ सेट नै जित्दा ४ सेट गुमाएको छ ।

नेपालको नतिजा

श्रीलंका विरुद्ध ३–० को सेटमा विजयी (२५–१९, २५–१८, २५–१८)
भारत विरुद्ध ३–२ को सेटमा विजयी (२५–१८, १२–२५, २५–१७, २५–१८,  १५–१३)
इरान विरुद्ध ३–२  सेटमा पराजित (१६–२५, २५–१६, २३–२५, २५–१५, १३–१५)
माल्दिभ्स विरुद्ध ३–० को सेटमा विजयी  (२५–८, २५–१९, २५–१८)
सेमिफाइनलमा इरान विरुद्ध ३–० को सेटमा विजयी (२५–२१, २८–२६, २५–२०)