नेपालगन्ज २३ साउन : माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परिक्षाका लागि गुल्मीबाट ५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । आज बुधबारदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने एसइई ग्रेड वृद्धि परीक्षामा बाँकेका १२ वटा परीक्षा केन्द्रमा ५ हजार २ सय २५ परीक्षार्थी सहभागी भएका छन् ।
यो पनि पढ्नुहोस् एसइईको नतिजामा बाँके कमजोर, १६ विद्यालयको नतिजा शून्य
बाँकेमा एक विषय लागेका विद्यार्थीको संख्या एक हजार २३८ र दुई विषय लागेका विद्यार्थीको संख्या एक हजार २२४ रहेको छ । योसहित एनजी(अवर्गिकृत) पाँच हजार ९९९ विद्यार्थीको एनजी आए पनि ग्रेड वृद्धि परीक्षाका लागि पाँच हजार २२५ जनाले मात्रै फारम भरेर परीक्षामा सहभागी भएको छन् ।
यसपटक एसईईको परीक्षामामा सहभागीमध्ये ३२ दशमलव ३२ प्रतिशत मात्र बाँकेका विद्यार्थी उत्तीर्ण भएका छन् । आधा भन्दा धेरै विद्यार्थी एसईईको परीक्षामा अनुत्तीर्ण भएपछि यतिबेला समग्र बाँकेको शैक्षिक प्रणालीमाथि प्रश्न खडा भएकोछ ।
शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार सो परीक्षाका लागि जिल्लाका पाँच वटा पालिकाका १२ वटा विद्यालय परीक्षा केन्द्र तोकिएको छ भने परीक्षा सञ्चालनका लागि ५३५ भन्दा बढी शिक्षकलाई परिचालन गरिएको छ ।
उनले नेपालगन्ज उपमहानगरमा चार वटा, कोहलपुर नगरपालिकामा चार वटा, राप्ती सोनारी गाउँपालिकामा दुई र खजुरा तथा बैजनाथ गाउँपालिकामा एक–एक वटा परीक्षा केन्द्र तोकिएको बताए ।
नेपालगन्ज उपमहानगरपालिकामा सरस्वती मावि, महेन्द्र मावि, मङ्गलप्रसाद मावि र धम्बोझी मावि, कोहलपुरमा राम मावि, त्रिभुवन मावि, ज्ञान ज्योति र लक्ष्मी मावि, राप्ती सोनारीमा लक्ष्मी मावि र सिद्धेश्वर मावि, खजुरामा ज्ञानोदय मावि र बैजनाथमा प्रभात माविमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।
बाँकेबाट ग्रेड वृद्धिको परिक्षामा सहभागी हुनेहरुमा सबैभन्दा बढी गणित विषयका विद्यार्थी छन् । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख यादवका अनुसार गणित विषयमा तीन हजार ७३३, विज्ञानमा दुई हजार ७६८, सामाजिकमा दुई हजार ६२९, अङ्ग्रेजीमा एक हजार ९२३, अर्थशास्त्रमा एक हजार ८५२, नेपालीमा एक हजार ४०८ र ऐच्छिक गणितमा ७७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
२०८० सालको एसईई परीक्षामा जिल्लाका कुल ९ हजार २ सय ९३ विद्यार्थी सम्मलित भएका थिए । यी विद्यार्थी मध्ये आधा भन्दा धेरै विद्यार्थी एसईई परीक्षामा अनुत्र्तीण भएको पाइएको हो ।
यसपटकको एसईई परीक्षामा बाँकेका २६१ जना विद्यार्थीले ए प्लस, ९३१ विद्यार्थीले ए, एक हजार ९१ जना विद्यार्थीले बी प्लस, ६३० जना विद्यार्थीले बी र ९१ जना विद्यार्थीले सी प्लस ल्याएका थिए ।