बर्दियामा बाघले २ जना खायो

सर्तक रहन आग्रह:सिडिओ


बर्दियामा बाघले २ जना खायो

पाटेबाघको आक्रमणमा परि मृत्यु भएका ७० वर्षिय पहरिया थारु । तस्विर सौजन्यः नन्दराज लामिछाने /बर्दिया

नेपालगन्ज: पछिल्लो समय बर्दिया जिल्लामा बाघको आक्रमणमा परि दुईजनाको मृत्यु भएकोछ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गर्दा दुईदिनको अन्तरालमा दुईजनाको मृत्यु भएको हो ।

भदौ ५ गते विहीबार बर्दिया जिल्ला गेरुवा गाँउपालिका वडा नम्बर ४ मा पाटेबाघले आक्रमण गर्दा ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । उनी घरनजिकै खेतमा घाँस काट्दै गर्दा बाघले उनीमाथि आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना सेलाउन नपाउँदै पुनः बर्दियामा बाघको आक्रमणमा परि एक जनाको मृत्यु भएकोछ । ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाँउ खानेपानी ट्याकीं नजिक आज विहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीय ७० वर्षीय पहरिया थारुको मृत्यु भएको हो ।

बुंगुरलाई दाना दिन हिडेका पहरिया थारुलाई बाघले आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको बताइएकोछ । दुईदिनको अन्तरालमा जिल्लामा बाघको आक्रमणमा परि दुईजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया र राष्ट्रिय निकुञ्ज बर्दियाले सवैलाई सजग र सचेत रहन आग्रह गरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रशासन कार्यालय बर्दियाले आईतबार सार्वजनिक सूचना जारी गर्दै मध्यवर्ती क्षेत्रबाट बाघ हटाउने प्रयास भइरहेको जनाएकोछ । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गर्दै बाघ हटाउने प्रयास भइरहेको भएपनि बाघको आक्रमणको जोखिम सो क्षेत्रमा अझै पनि भएकोले सजग र सचेत हुन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले मध्यवर्ती क्षेत्रमा बाघको खतरा अझै भएकाले सो क्षेत्रमा घाँस दाउरा लगायतका अन्य काम नगर्न आग्रह गर्दै आवश्यक सजगता अपनाउन आग्रह गरेकाछन् ।

बाघको संख्या बृद्धि भएसगैं निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुदैं मानव वस्तीतर्फ बाघ पस्न थालेको हो । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रबेश गर्न थालेको हो ।

गत माघ २१ गते बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर २ साविक जमूनी गाविस वडा नम्बर ५ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । बाघकै आक्रमणमा परि अर्का स्थानीयबासी ३० वर्षिय विजय बुढा सामान्य घाईते भएका थिए ।

यस्तै बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ३ धौलागिरी गत जेठ ३ गते सोमबार साँझ पाटेबाघले आक्रमण गर्दा तीन जना घाईते भएका थिए । घाईते मध्ये ५० वर्षीय दिपबहादुर श्रीष गम्भीर घाईते भएपछि उनलाई नेपालगन्ज मेडिकल केलजमा उपचार गरेर बचाइएको थियो ।

बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका छन् । निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ ।

वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । सरकारको तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ वटा र बाँके राष्ट्रिय निकुञ्ज २१ वटा बाघ रहेका छन् ।