जानौं नागपञ्चमी र नागको महत्व
नेपालगन्ज २५ साउन :आज नाग पञ्चमी हिन्दुहरूको एक परम्परागत पर्व हो । हिन्दु समुदायमा यसको ठूलो महत्व छ । यो हरेक वर्ष श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ । यस शुभ दिनमा मानिसहरूले नागको पूजा गर्छन् । नाग पञ्चमीको पर्व विशेष गरी पुराणहरू र धार्मिक ग्रन्थहरूमा वर्णित छ ।
यसलाई लिएर मान्यता छ कि नागहरूको पूजाले विषालु सर्पहरूबाट बचाउँछ र जीवनमा उन्नति र समृद्धि आउँछ । पुराण अनुसार पञ्चमी तिथि नागहरूलाई अत्यन्त प्रिय छ ।
मान्यता छ कि यदि बिहान–बेलुका भागवत स्मरणसँगै अनन्त र वासुकी आदि पवित्र नागहरूको नाम स्मरण पनि गरिन्छ भने, सर्वत्र विजय हासिल हुन्छ ।
हिन्दु धर्ममा सर्पलाई समेत भगवानको अंश भनी पूजा गर्ने चलन चलिआएको छ । त्यसो त नेपाली र पूर्वीय समाजमा प्रकृतिको पूजा विभिन्न दृष्टिकोणले गर्ने चलन छ । बोटबिरुवामा पीपल र तुलसीलाई विष्णु भगवानको अवतारको रूपमा पूजा गर्ने चलन छ ।
ढुङ्गा तथा शालिग्रामको पूजा गर्ने, नदीनालालाई पवित्र तीर्थाटन नै मान्ने, पशुमा गाई र कुकुरको पूजा गर्ने, पन्छीमा कागको पूजा गर्ने, सर्पको पूजा गर्ने जस्ता आदि चालचलनले नेपालीहरू प्रकृतिप्रेमी छन् भन्ने कुरा प्रष्ट हुन्छ । यसको साथै गुरुङ्ग समुदायमा त सबै वर्षको गणना समेत प्रकृतिका पशुपन्छीका नामका आधारमा गर्ने गरिन्छ भने अन्य विभिन्न धर्म सम्प्रदायमा समेत प्रत्यक्ष वा परोक्ष रूपमा प्रकृतिकै पूजा गर्ने चलन चलिआएको छ ।
पाश्चात्य समाजमा प्रकृतिलाई मानवलाई प्राप्त अथाह स्रोत–साधनको खानी भनी व्याख्या गरिन्छ र अधिकांश रूपमा प्रकृतिको दोहन गर्ने गरिन्छ । सर्पकै सम्बन्धमा छोटो कुरा गर्ने हो भने क्रिश्चियनहरूले सर्पलाई सबैभन्दा ठूलो शैतान वा शत्रु ठान्छन् र देखेमा मारिहाल्नुपर्छ भन्ने मान्यता राख्दछन् भने पूर्वीय समाजमा सर्पलाई नाग देवताको रूपमा पूजा गर्ने चलन छ ।
नाग पञ्चमीको पूजा विधि
यस दिन बिहानै नुहाएर सफा कपडा लगाउनुहोस् र ढोकाको दुवैपट्टि गोबरका नागहरू बनाउनुहोस् । यदि यो सम्भव छैन भने पूजा गर्ने स्थानमा सर्पको प्रतिमा वा चित्र स्थापना गर्नुहोस् । दही, दूध, कुश, गन्ध, अक्षता र विभिन्न प्रकारका नैवेद्यहरूबाट नागहरूको पूजा गर्नुहोस् ।
अब नाग देवताको आरती गर्नुहोस् र त्यहीँ बसेर नाग पञ्चमीको कथा पढ्नुहोस् । त्यसपछि नाग देवतासँग घरमा सुख–शान्ति र सुरक्षाको प्रार्थना गर्नुहोस् । यसो गर्दा पूजा गर्नेको कुलमा कहिल्यै सर्पहरूको डर हुँदैन ।
यस दिन नाग देवताको पूजासँगै भगवान् शिवको पूजा गर्नुपर्छ । यस दिन रुद्राभिषेक गराउँदा शुभ फलहरूको प्राप्ति हुने धार्मिक विश्वास छ ।
नागपञ्चमी र नागको महत्व
नागपञ्चमी पर्व वर्षायाममा सर्पहरू प्रशस्त निस्कने याममा पर्दछ जुन सान्दर्भिक पनि छ । सर्पलाई नाग मानिन्छ भने नागहरू विभिन्न प्रकारका हुने विश्वास छ । ग्रन्थहरूमा अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः । कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ।। भनेर अष्ट नागहरूको वर्णन पाइन्छ र यी नागहरू पूजनीय हुन्, जसलाई पूजा गर्नुपर्छ भन्ने मान्यता पाइन्छ । खासगरी नागहरू शिवजीका गहना हुन् भनी अझ बढी महत्व दिने गरिन्छ ।
नागपञ्चमीका दिन यस्ता सबै नागहरूको विधिपूर्वक पूजाआजा गरी नागको चित्र घरको मूल ढोकामा टाँसेमा असाध्यै शुभ हुने र सर्पको टोकाइ नहुने समेत विश्वास गरिन्छ । हिन्दु धर्ममा यही दिनमा नागका मूर्ति र तस्वीरहरूमा पूजाआजा गरे निकै राम्रो हुने विश्वास गरी नागलाई प्रकृतिको एउटा अंशको रूपमा स्वीकार गरी यसको महत्व पुष्टि गरिन्छ ।
नाग पञ्चमीको दिन के नगर्ने ?
नाग पञ्चमीको दिन जमिनमा जोत्ने खन्ने गर्नु हुँदैन किनकि यसले तल बस्ने सर्पहरूलाई चोट पु¥याउन सक्छ या तिनीहरूलाई हानि पु¥याउन सक्छ भन्ने मान्यता छ ।
नाग पञ्चमीको समयमा रूखहरू काट्नबाट बच्नु राम्रो हो । सर्पहरूले प्रायः रूखहरूमा आफ्नो घर बनाउँछन्, र तिनीहरूलाई काट्नाले तिनीहरूको घर नष्ट हुन सक्छ । मान्यता छ कि यस दिन चुल्होमा खाना पकाउन तावा र फलामको भाडाको पनि प्रयोग गर्नु हुँदैन । यस दिन सर्पलाई समाउने मार्ने या चोट पु¥याउने कार्य गर्नु हुँदैन ।