नेपालगन्ज २५ साउन : कार्यालय सहयोगीबाट वडाध्यक्षमा निर्वाचित चन्द्रबहादुर गुरुङ आर्थिक सङ्कटले घेरेपछि वैदेशिक रोजगारीमा विदेश पलायन भएकाछन् । दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका हुन् ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित गुरुङ साउन २० गते रोजगारीका लागि विदेश गए । निर्वाचनअघि गुरुङ सोही वडामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । कार्यालय सहयोगी भएर काम गर्दा मतदाताको मन जितेर उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा (एमाले) बाट उम्मेदवार बनेका गुरुङ १३४ मतान्तरले नेपाली काँग्रेसका प्रभाकरदेव चौधरीलाई हराउँदै वडाध्यक्षमा निर्वाचित भए । कार्यालय सहयोगीबाट वडाध्यक्षमा निर्वाचित गुरुङले निकै चर्चा पाएका थिए ।
अहिले पनि उनको काम गराइप्रति नागरिकको विश्वास कायमै छ । उनले एकाएक वैदेशिक रोजगारीको यात्रा थालेपछि भने वडावासी आश्चर्यमा परेका छन् । वडा सदस्यहरू पनि अल्मलिएका छन् । ‘वडामा कुरा भएको थिएन, एक्कासि विदेश जानुभयो रे भन्ने सुनियो,’ वडा सदस्य दयाराम चौधरीले भने । वडाध्यक्ष गुरुङ बेलायत पुगेको बताइएकोछ ।
वडा सदस्य चौधरीका अनुसार वडा सचिवले गर्ने कामदेखि सेवाग्राहीको निवेदन लेखिदिनेसम्मका सबै काम उनी आफैँ गर्थे ।
आर्थिक सङ्कटले घेरेपछि वैदेशिक रोजगारीलाई रोज्नु परेको उनकी श्रीमती सङ्गीता गुरुङले बताइन् । उनले भनिन्, ‘जनताको सेवामा रमाउने मान्छे हो तर, रहरले मात्र हुने रहेनछ । आर्थिक समस्याले च्यापेपछि बाध्यताले विदेश जानुभएको हो ।’
‘आमा लामो समयदेखि बिरामी हुनुभयो । उहाँको उपचारमा धेरै रकम खर्च भयो । ऋण पनि लाग्यो, यहाँ बसेर तिर्न सक्ने अवस्था नभएपछि विदेश जानुभएको’ सङ्गीताले बताइन् ।
वडाध्यक्ष गुरुङका बुवा नीमबहादुर गुरुङ बेलायतको सेवानिवृत्त सेना हुन् ।
बुवाको मृत्युपछि बेलायत सरकारले निवृत्त भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेका कारण उनी पनि विदेश गएका हुन् । हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनले समाल्दै आएकीछन् । वडा सदस्य पुनलाई जिम्मेवारी दिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
वडाध्यक्षका रूपमा उनले मासिक ३० हजार रुपैयाँ सेवा सुविधा पाउँदै आएका थिए ।