नेपालगन्ज २५ साउनः डिभिजन वन कार्यालय बाँके वन अपराध र नियन्त्रणमा लुम्बिनी प्रदेश भरीमै उत्कृष्ट बनेको छ ।
गत आर्थिक वर्ष ०८०–८१ मा लुम्बिनी प्रदेशका १२ जिल्लाका १४ डिभिजन वन कार्यालयमध्ये वन मन्त्रालय लुम्बिनी प्रदेशको मुल्याङ्कनमा वन अपराध र नियन्त्रण कार्यमा बाँके उत्कृष्ट कार्यालय बनेको हो ।
प्रदेशको वन वातावरण तथा जैविक विविधताको संरक्षण एवम् व्यवस्थापनका माध्यमबाट प्रदेशभित्रको रोजगारी र आयमा योगदान पु¥याउन गत आर्थिक वर्ष ०८०–८१ मा वन मन्त्रालय अन्तर्गत बाँके जिल्ला वन अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल हुनेगरी उत्कृष्ट कार्य सम्पादन गरेको प्रदेश वन मन्त्रालयले जनाएको छ ।
वन क्षेत्रको प्रभावकारी संरक्षण र व्यवस्थापनमा सक्रिय र निरन्तर योगदान पु¥याई वन अपराध र नियन्त्रणमा प्रदेश भरीमै उत्कृष्ट कार्य गरेकाले उक्त भूमिकाको उच्च मुल्याङ्कन गर्दै डिभिजन वन कार्यालय बाँकेलाई वन मन्त्रालयले कदरपत्र समेत प्रदान गरेको सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिए ।
वन मन्त्रालयले बुधवार र बिहीबार लमही दाङमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा गत आर्थिक वर्षको प्रगति समिक्षा गोष्ठीका अवसर पारेर डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजनल वन अधिकृत अजितकुमार कर्णलाई वनमन्त्री बादशाह कुर्मीले उक्त कदरपत्र प्रदान गरे ।