भेरी अस्पतालको टिकट घर बसेरै अनलाईनबाट काट्न सकिने


सेतोखरी सेतोखरी   आइतबार, साउन २७, २०८१
भेरी अस्पतालको टिकट घर बसेरै अनलाईनबाट काट्न सकिने

नेपालगन्ज २७ साउन : स्वास्थ्य उपचारका लागि अस्पताल परिसरमै पुगेर टिकट काट्नुपर्दा सर्वसाधरणले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै भेरी अस्पताल नेपालगन्जले सरकारी अस्पतालहरुको हकमा देशमै पहिलोपटक अनलाईनबाट टिकट काट्न पाउने व्यवस्था लागु गरेकोछ ।

भेरी अस्पतालले यही शुक्रबारबाट सेवाग्राहीहरूले घरबाटै अनलाइन माध्यमबाट उपचारका लागि आफ्नो टिकट काट्न ‘अनलाइन टिकेट सेवा’को सुरुआत गरेको हो ।

भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.प्रकाशबहादुर थापाले अस्पतालमा सयौँको सङ्ख्यामा बिरामी सेवाग्राहीको घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नका लागि अस्पतालले अनलाइन टिकेट सेवाको सुरुआत गरेको बताए ।

‘अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी नागरिकहरू सेवा लिन आउने गर्नुहुन्छ, उहाँहरू टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता रहेको छ ।’ मेसु थापाले भने, ‘घण्टौँ सम्मको लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्नका लागि अनलाइन टिकेट सेवा सुरुआत गरेका छौँ, अहिले सुरुमा परीक्षणका लागि एक दिनमा १०० टिकट काट्न मिल्ने गरी व्यवस्था गरेका छौँ, भविष्यमा यसको प्रभावकारिता हेरेर सोही अनुसार सङ्ख्यामा बृद्धि गर्नेछौँ ।’

Kanti Aarogya Hospital Nepalgunj

मेसु थापाका अनुसार सेवाग्राहीले चेकजाँच गराउन चाहेको रोगको उपचारका लागि सम्बन्धित रोगसहितका विभाग र कोठा नम्बरसमेत वेबसाइटमा राखिएको छ । वेबसाइटमा गइसकेपछि सेवाग्राहीले आवश्यक जानकारीसहितको फाराम भर्नुपर्नेछ । 

सेवाग्राहीले फाराम भरिसकेपछि सेवा शुल्क बापत ३० रुपैयाँ अनलाइनबाटै बुझाउनुपर्ने र आफूले चाहेको मिति र समयमा टिकट बुक गर्न पाउनेछन् । सेवा शुल्क बुझाइसकेपछि एउटा टोकन नम्बर अनलाइनबाटै पाइने र सो टोकनलाई अस्पतालमा लगेर देखाएपछि तत्काल सेवा पाउने व्यवस्था गरिएको मेसु थापाले बताए ।

अनलाईन टिकेट सेवाको भने केही बन्देज रहेकोछ । यो सुविधा हाललाई वीमा सेवाग्राहीले भने पाउने छैनन् ।

‘हाललाई नयाँ सेवाग्राहीका लागि मात्र परीक्षण अनलाइन टिकट सेवाको सुरुआत गरेका छौँ, वीमा सेवा लिनेहरूका लागि भने तत्काल व्यवस्था गरिएको छैन ।’ मेसु थापाले भने,‘वीमा सेवाग्राहीका लागि बिस्तारै सेवा थप गर्दै जानेछौँ, परीक्षणकाल भएका कारण जुन–जुन समस्या देखिन्छन् सबैलाई सम्बोधन गर्दै परिमार्जन गर्नेछौँ ।’

अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी नागरिकको सहज र सरल पहुँचमा ल्याउनका लागि थप सुविधाहरू विस्तार गर्दै लैजाने मेसु थापाले बताए ।

हाल अस्पतालले ओपिडी टिकट काट्नका लागि आईतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि १२ः३० बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ११ः३० बजेसम्मको समय छुट्याएको छ । अनलाइन टिकेट सेवा भने चौबिसै घण्टा खुल्ला रहनेछ ।

Pradip_paudel_bheri_mantri-1723201622.jpg
अनलाइनट टिकट काट्नका लागि अस्पतालको वेबसाइट www.bheri.hospital.gov.np  मा गएर https://bheri.opdticket.com/ मा गई त्यहाँ रहेको फारममा आफ्नो विवरण भरी यो सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

भेरी अस्पतालमा अनलाइन टिकेट सेवाको सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यही शुक्रबार अस्पतालमा पुगी अनलाइनबाट आफ्नो टिकट काटेर सेवाको शुभारम्भ गरेका थिए ।

देशभरका सबै सरकारी अस्पतालमा अनलाईन टिकेट सेवा सुरु गर्न आफूले भन्दै आएको स्मरण गर्दै स्वास्थ्यमन्त्री पौडेलले देशमै भेरी अस्पतालले पहिलोपटक उक्त सेवा सुरु गरेकोमा प्रसंसा गर्दै यसको निरन्तरताका लागि बधाई दिए । 

उनले सोक्रममा अस्पतालबाट टिकेट सेवा मात्र नभएर ल्याब रिपोर्टहरु पनि अब अनलाईनबाटै सेवाग्राहीलाई उपलब्ध गराउने चाँजोबाँजो मिलाउन निर्देशन दिएका थिए ।

अस्पतालले अनलाइन टिकेट काट्ने व्यवस्था गरेपछि सेवाग्राहीहरू घण्टौँसम्म लाइन लागेर पालो कुरी टिकट काट्नुपर्ने बाध्यता हट्ने आशा गरिएको छ ।