नेपालगन्ज : बागेश्वरी मन्दिर गुठीको नाममा रहेको चल–अचल सम्पत्ती छानविन तथा खोजीका लागि नेपालगन्ज उप–महानगरपालिकाकाले तदारुक्ता देखाएको छ ।
विभिन्न व्यक्तिका नाममा गराइएको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा मन्दिरकै नाममा ल्याइनुपर्ने आवाज उठेपछि उपमहानगरपालिकाले तदारुक्ता देखाएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले बागेश्वरी मन्दिर गुठीको नाममा रहेको चल–अचल सम्पत्ती छानविन तथा खोजी गरि मन्दिरकै नाममा फर्काउने बताएकाछन् ।
उपमहानगरपालिकाले जनप्रतिनिधी तथा पत्रकारविच आईतबार नेपालगन्जमा गरेको छलफलमा बोल्दै बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डा. राणाले लामो प्रयासपछि मन्दिरको जग्गाको स्थिति पत्ता लागेको बताए ।
उनले भने–‘मन्दिरको जग्गा धेरै पहिला व्यक्तिका नाममा गएको देखिन्छ । हामी यसकोे लगत संकलन गर्दैछौं ।’ छलफलमा बोल्दै उनले भने, ‘पहिला भूमि सुधार तथा मालपोत कार्यालयले सहयोग गरेन । अहिले भने उसले लगत निकाल्ने काम गरिराखेको छ । जग्गा मन्दिरका नाममा ल्याउन गर्नुपर्ने सवै प्रयास हामी गर्नेछौं ।’
गुठी व्यवस्थापन समितिले डेढ वर्ष समय लगाएर गरेको छानबिनबाट मन्दिरको ८४ बिघा जग्गा जिल्लाका ३ सयजनाले व्यक्तिगत बनाएर लालपुर्जा लिएको तथ्य खुलेको समेत डा. राणाले बताए । उनले भने– ‘धेरैजसोले मन्दिरको जग्गालाई रैकरमा परिणत गरी आफ्नो नाममा गराएको देखिन्छ ।’
मन्दिरको जग्गा कुन मितिमा, कसरी व्यक्तिका नाममा गयो हामीले भूमि सुधार तथा मालपोत कार्यालयसंग विस्तृत विवरण माग गरेकाछौं । जग्गा कानूनी या गैरकानूनी कुन प्रक्रियाबाट व्यक्तिका नाममा गयो त्यो अनुसन्धानबाट पत्ता लाग्छ । गलत प्रक्रियाबाट व्यक्तिका नाममा गएको रहेछ भने मन्दिरको नाममा फिर्ता हुने मेयर डा. राणाले बताए ।
सरकारी र सार्वजनिक जग्गामा भूमाफियाले नजर लगाइरहेका बेला नेपालगन्ज स्थित बागेश्वरी मन्दिरको जग्गा पनि अछुतो रहन सकेन। बागेश्वरी मन्दिरको जग्गा पनि यस्तै माफियाले गैरकानूनी रुपमा व्यक्तिगत बनाइएको हुनसक्छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरको संयोजकत्वमा गुठीको सम्पत्ति छानविनको कार्य गरेको थियो । ८४ बिघा जग्गामध्ये कति रैकरमा गयो, कति गएको छैन, त्यसको रेकर्ड दिन भूमि सुधार तथा मालपोत कार्यालयले मानिरहेकाछैन ।
जनप्रतिनिधी तथा पत्रकारबीच गरिएको छलफलमा बोल्दै उपमहानगरपालिकाका मेयर डा.राणाले पछिल्लो समय बागेश्वरी मन्दिरमा पुर्ननिर्माण हुन लागेको भवनका विषमा आफ्नो धारणा सार्वजनिक गर्दै भने–‘सो स्थानमा सटरवाला भवन निर्माण हुन्छ । मन्त्री राईसँग कुनैपनि प्रकारको विमति र असमझदारी नभएको प्रष्ट पारे ।’