बिमा दावी गर्न नेपालगन्जको एउटा पसलमा लागेको रहस्यमय आगलागी

पौने १ करोड वीमा दावी, इन्स्योरेन्सको शंकाको घेरामा व्यापारी


दामोदर भण्डारी दामोदर भण्डारी   सोमबार, साउन २८, २०८१
बिमा दावी गर्न नेपालगन्जको एउटा पसलमा लागेको रहस्यमय आगलागी

नेपालगन्ज न्यूरोडमा रहेको एसक्युज मी फेशन वेयरमा भएको आगलागी ।

अष्ट्रेलिया २८ साउन : नेपालगन्ज न्यूरोड स्थित एक सपिङ् पसलमा भएको आगलागी रहस्यमय आगलागी बनेको छ । भवितव्य आगलागी नभइ आफैले आगो लगाए जस्तो विभिन्न तथ्य प्रमाणहरुले देखाएपछि उक्त आगलागी रहस्यमय बनेको हो ।

मिति २०८१ साउन २ गते राती नेपालगन्ज न्यूरोडमा रहेको एसक्युज मी फेशन वेयरमा आगलागी भएको थियो । आगलागीबाट सबै मालसामान जलेका छन् । 

एसक्युज मी फेसन वेयरमा आगो लागेको हो की आगो लगाइएको हो भन्ने बारे सेतोखरी डटकमसँग थुप्रै प्रमाणहरु आइपुगेका छन् । यद्यपी उक्त पसलका सञ्चालक गाविन्द साहुले एसक्युज मी फेशन वेयरमा २०८१ साउन २ गते मध्ये राती विद्युत सर्किट भई आगलागी भएर पूर्ण रुपमा क्षती भएको भन्दै वीमा दावीका लागि २०८१ साउन ३ गते वीमा कम्पनीमा निवेदन दिएका छन् । 

Aaglagi_npj_new_road-1-1723377386.jpg
रातीको १२ बजेर १५ मिनेट ३० सेकण्ड जाँदा दुईजना ब्यक्ति एसक्युज मी फेसन वेयरमा पसलमा प्रवेश गर्दै ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

पसल जलेपछि पसल सञ्चालक गोविन्दले इन्स्योरेन्स कम्पनीसँग पौने एक करोड दावी भुक्तानी माग गरेका छन् । पसल जलेपश्चात पसल सञ्चालकले भुक्तानीका लागि रकम माग दावी गरेपछि उक्त रकम भुक्ततानी गर्न इन्स्योरेन्स कम्पनीले क्षतीको विवरण संकलन तथा अनुसन्धान थालेपछि आगलागी रहस्यमय देखिएको हो ।

सेतोखरीलाई प्राप्त थुप्रै प्रमाणहरु केलाउँदा आगलागी नभई वीमा रकम दावी भुक्तानी गर्नका लागि आगो लगाए जस्तो देखिन्छ । यस बिषयमा सेतोखरीले थप अनुसन्धान गरी रहेको छ ।

पसल सञ्चालक गोविन्दले एसक्युज मी फेशन वेयरको वीमा सानिमा जिआइसी इन्स्योरेन्स लिबाट गरेका छन् । उनको पसलको वीमा लेख न. ००९/०२/९०२०००७०/२३/२४ रहेको छ । 

सेतोखरीलाई प्राप्त वीमाका कागजात अनुसार, सानिमा जिआइसी इन्स्योरेन्स लिमा एसक्युज मी फेशन वेयरको मिति २०८० कात्तिक ३ गते ३३ लाखको वीमा गरिएको छ ।

aaglagi_new_road_jhola-1723377426.jpg
रातीको १२ बजेर २७ मिनेटमा एक जना ब्यक्ति हातमा झोला लिएर पसलबाट बाहिर निस्कदैँ ।

त्यसैगरी सञ्चालक गोविन्दले फेरी मिति २०८१ जेठ १७ गते ४२ लाखको वीमा थपेका छन् । उनको एनएमबी बैंक कारकाँदो शाखा नेपालगन्जमा ऋण रहेको देखिन्छ । उनले एसक्युज मी फेशन वेयरको नाममा जम्मा ७५ लाखको वीमा गरेको देखिन्छ । उक्त पसलको वीमा २०८१ असोज ३ गते राती १२ बजे सकिन्छ । वीमा अवधि सकिन २ महिना बाँकी रहँदा एसक्युज मी फेशन वेयरमा आगलागी हुन पुग्छ ।

सानिमा जिआइसी इन्स्योरेन्स लिले उक्त आगलागी रहस्यमय र शंकास्पद रहेको सेतोखरीसँग भनेको छ । पसल संचालक गोविन्दले इन्स्योरेन्स समक्ष आफु पसल बन्द गरेर ८ बजे नै घर गएको बताएका छन् ।

आगलागी र केही तथ्य 

नेपालगन्ज उपनगरपालिका वडा नम्बर–२ न्यूरोडमा अवस्थित घरधनी सतनाम कौरको घरमा गोविन्दले एसक्युज मी फेशन वेयर खोलेका थिए । घरधनी कौर त्यहाँ बस्दैनन् ।
मिति २०८१ साउन २ गते मध्य राति गोविन्दको एसक्युज मी फेशन वेयरमा आगलागी हुन्छ । सडकमा हिँड्ने कसैले आगो लागेको धुँवा निस्किरहेको देख्छन् र आगलागी भयो बाहिर निस्क भन्दै जोडले चिच्याउन थाल्छन् । 

माथिल्लो तलामा भाडामा बस्ने व्यक्तिहरु बाहिर सडकमा आउँछन् र पसलमा आगो लागेको भन्दै पसलधनी, दमकल अनि प्रहरीलाई खबर गर्छन् । दमकल, वरिपरिका छिमेकी प्रहरी सबैको सक्रियतामा आगो निभाइन्छ ।

पसलधनी गोविन्दले विद्युत सर्किटले पसलमा आगलागी भएको सबैलाई बताउँछन् । तर, सेतोखरीलाई प्राप्त प्रमाण अनुसार, आगलागी आफै नलागी लगाएको जस्तो देखिन्छ । 
२०८१ साउन २ गते रातको १२ बजिसकेको हुन्छ । मध्यरात भइसकेकाले सबै निदाइसकेका हुन्छन् । 

रातीको १२ बजेर १५ मिनेट ३० सेकेण्डमा २ जना व्यक्ति गोविन्दको एसक्युज मी फेशन वेयर भित्र प्रवेश गर्छन् । 

aaglagi_npj_new_road-2-1723377488.jpg
रातीको १२ बजेर २८ मिनेट ३० सेकेण्ड जाँदा फेरि दुई जना ब्यक्ति पसलबाट बाहिर निस्केर विपरित दिशातिर जाँदै ।

प्रवेश गरेको १२ मिनेटपछि अर्थात १२ बजेर २७ मिनेटमा १ जना व्यक्ति हातमा झोला समातेर बाहिर निस्कन्छन् र जान्छन् । 

ती व्यक्ति निस्केको १ मिनेट ३० सेकेण्ड अर्थात १२ बजेर २८ मिनेट ३० सेकेण्डमा फेरी २ जना व्यक्ति पसलबाट बाहिर निस्केर फरक–फरक दिशातर्फ जान्छन् ।

अनि १२ बजेर ३२ मिनेट १३ सेकेण्डमा आगलागी भएको धुँवा बाहिर निस्किएको देखिन्छ । अर्थात ती २ जना व्यक्ति बाहिर निस्किएको ३ मिनेट ४३ सेकेण्डपछि पसलमा आगलागी भएको धुँवा बाहिर निस्कन्छ ।

रातीको १२ बजे २ जना व्यक्ति किन पसलभित्र पसे त ? केही छिनमै किन निस्किए त ? उनीहरु निस्किएको ४ मिनेट भित्र नै आगो किन लाग्यो ? यस आगलागीको अनुत्तरित प्रश्न छन् ।

सबै तथ्यहरु केलाउँदा के देखिन्छ भने १ जना व्यक्ति पहिलेदेखि नै पसलमा रहेको र २ जना व्यक्ति भित्र गएर ३ जना मिली आगो लगाएर पालैपालो बाहिर आएको हुन सक्ने देखिन्छ । किनभने पसलबाट ती व्यक्तिहरु निस्केर गएको ४ मिनेटभित्र आगो लागेको छ । 

समाचारमा फोटो मात्र राखिएको छ यस सम्बन्धि भिडियोहरु सेतोखरीसँग सुरक्षित रहेको छ ।