आगलागी भएको ४ महिना वित्दा पनि बनेनन् खजुरा क्यान्सर अस्पतालका उपकरणहरु


सेतोखरी सेतोखरी   सोमबार, साउन २८, २०८१
आगलागी भएको ४ महिना वित्दा पनि बनेनन् खजुरा क्यान्सर अस्पतालका उपकरणहरु

नेपालगन्ज २८ साउन : स्थानीयले मुट्ठीदान गरेर निर्माण गरेको बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालमा आगलागी भएको ४ महिना वित्दापनि उपकरणहरु सञ्चालनमा आउन सकेको छैन । 

अस्पतालको रेडियोलोजी भवनमा आगलागी भएको ४ महिना पुग्दा पनि भवनमा रहेका उपकरणहरु सञ्चालनमा आएका छैनन् ।  

यो पनि पढ्नुहोस्  खजुराको क्यान्सर अस्पतालमा आगलागी

सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पताल विकास समिति र अस्पताल प्रशासनको चरम लापरबाहीका कारण ४ महिना वित्दापनि अस्पतालका उपकरणहरु सञ्चालनमा आउन नसकेको हो । जसका कारण सयौं सेवाग्राहीले सास्ती भोग्नु परेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

क्यान्सर रोग पहिचानका लागि अत्यावश्यक उपकरणहरु सञ्चालन हुन नसक्दा क्यान्सरको पहिचान र निदान गर्न आएका बिरामीहरुले सास्ती खेप्न बाध्य बनेका छन् । सिटी स्क्यानदेखि लिएर एक्सरे सेवासमेत सञ्चालन हुन नसक्दा बिरामीहरु ती सेवाहरु लिन नेपालगन्ज पुग्नुपर्ने अवस्था छ भने उनीहरु दोब्बर बढी मूल्य तिर्न बाध्य बनेका छन् ।

1588336245Cancer_hospital_khajura.jpg
रेडियोलोजी भवनमा रहेको सिटी स्क्यान, म्यामोग्राफी जस्ता अत्यावश्यक उपकरण सञ्चालन गर्न अस्पताल प्रशासन असफल जस्तै देखिएको छ । निजी अस्पतालहरुमा आगलागी हुँदा सामान्यतया १५ देखि एक महिनामा मर्मत गरि सञ्चालनमा आउन सक्ने उपकरणहरु क्यान्सर अस्पतालमा आगलागी भएको ४ महिना पुरा हुँदा पनि सञ्चालनमा आउन नसकेको हो । 

क्यान्सर अस्पतालको रेडियोलोजी भवनमा गत चैत १८ गते आगलागी हुँदा सिटी स्क्यान र म्यामोग्राफीको वायरिङ ध्वस्त भएको थियो । यस्तै आगलागीका कारण भिडियो एक्सरे र एक्सरे मसिनमा सामान्य क्षति पुगेको थियो । 

भिडियो एक्सरे र एक्सरे सञ्चालनमा आएपनि सिटी स्क्यान र मेमो ग्राफी भने कहिलेदेखि सञ्चालनमा आउने हो ? अनिश्चित जस्तै देखिएको छ ।

आगलागीले मेसिनहरुमा सामान्य मात्रै क्षति भएको र विद्युत प्रणालीमा मात्र बढी क्षति भएको भनिएपनि विद्युत प्रणालीको मर्मत र जडान मात्र पनि ४ महिना सम्म हुन नसक्नुलाई सेवाग्राहीले अचम्मको विषय मानेका छन् । प्रारम्भीक रुपमा विद्युत प्रणाली सुचारु गरि मसिनहरुको जाँच गर्ने काम समेत अस्पताल प्रशासनबाट हुन सकेको छैन ।

सिटी स्क्यान सञ्चालन हुन नसक्दा अस्पतालमा जडान भइ सञ्चालनको तयारीमा रहेको लिन्याक मेसिन समेत बेकाम बनेको छ । झण्डै २ वर्ष लगाएर जडान सम्पन्न भएको भनिएको लिन्याक उपकरण सिटी स्क्यान नचल्दा सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल फिजिसिस्ट राजु न्यौपानेले बताउँछन् ।

सिटी स्क्यान बिना लिन्याकको कुनै काम नभएको उल्लेख गर्दै न्यौपानेले सिटी स्क्यान मेसिन नचलेकै कारण लिन्याक जडान भएर पनि प्रयोगमा ल्याउन नसकिएको बताए । भरतपुर क्यान्सर अस्पताल पछि पश्चिममा खजुरा क्यान्सर अस्पतालमा मात्र रहेको म्यामोग्राफी पनि कहिले देखि चल्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।

अस्पताल प्रशासनको अधिकार क्षेत्र भन्दा बाहिरको रकम मर्मतमा लाग्ने भएपछि प्रक्रिया पुरा गर्न समय लागेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताए ।


टिप्पणी उठाउने, निर्णय गर्ने, टेण्डर खोल्ने र सम्झौता प्रक्रिया पुरा गर्दा ४ महिना लागेको निर्देशक साहको दाविछ । चार महिना लगाएर अहिले अस्पताल प्रशासनले मेसिनहरु पुनः सञ्चालनका लागि आवश्यक विद्युतीय उपकरणको खरिद गरेको छ । 

अस्पतालका प्रमुख डा. साहले २० लाख रुपैयाँभन्दा बढीका ब्याट्रि, युपिएस लगायतका विद्युतीय उपकरण खरिद गरिएको र सबै उपकरणहरु सुचारु गर्नका लागि कम्तिामा दुई हप्ता अझै लाग्ने बताए ।

सामान्यतया सरासर गर्दा एक महिनामा सकिने काम सरकारी प्रक्रिया भन्दै पुरा गर्न ४ महिना लगाएको अस्पताल निकट एक कर्मचारीले बताए । खरिद गरिएका विद्युतिय उपकरण अस्पताल परिसरमा आइसकेपनि त्यसको जडानको काम भने कछुवा गतिमा भइरहेको छ ।

२०७२ सालमा स्थानीयबासीबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरेपनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल सञ्चालन हुँदै आएको छ । 

बिरामीको चाप र आवश्यकताका आधारमा अस्पताललाई ७० बेडबाट १०० बेड बनाउनु पर्ने, अस्पतालको वार्डहरु सञ्चालन गर्न थप एक भवन तथा चिकित्सक र कर्मचारीको आवास आवश्यक रहेको छ ।

स्थानीयले मुट्ठीदान गरेर निर्माण गरेको अस्पताल २०७२ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । हिन्दुधर्मका धर्मगुरु सन्त दीनदयालजी महाराजको संकल्पमा महायज्ञबाट संकलित रकमबाट अस्पतालको निर्माण भएको हो ।