अस्ताए उद्योगीका अभिभावक अच्युत


विजय मल्ल विजय मल्ल   सोमबार, साउन २८, २०८१
अस्ताए उद्योगीका अभिभावक अच्युत

नेपालगन्ज २८ साउन: नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाद प्रसाईको निधन भएकोछ । 

स्वास्थ्यमा समस्या आई काठमाण्डौं स्थित मेडीसिटी अस्पतालमा उपचारत प्रसाईको सोमबार विहान ६९ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनसंगै नेपालगन्जले यस क्षेत्रका कुशल एवम सक्षम  व्यवसायीक, राजनीतिक, सामाजिक तथा आर्थिक धरोहर व्यक्ती गुमाएको छ।

Achyut_prasain_npj-1723476996.jpg
रामेछाप जिल्लाको मन्थली नगरपालिका भटौलीमा बुवा हिरालाल प्रसाईं तथा आमा प्रेमकुमारी प्रसाईंको कोखबाट २०१२ साल असार २४ गते जन्मिएका प्रसाई विगत पाँच दशकदेखि नेपालगन्जलाई कर्मथलो बनाउदैँ आएका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

उनी यस क्षेत्रका व्यवसायीक, राजनीतिक, सामाजिक तथा आर्थिक धरोहर प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको परिकल्पनाकार हुन् ।

नेपालगन्ज उद्योग बाणिज्य महासंघका पूर्व कार्यकारणी सदस्य समेत रहेका प्रसाई २०५३ पुष देखि २०५९ पुष सम्म नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा रहेर सफल र कुशल नेतृत्व गरिसकेका छन् । 

देश सशस्त्र द्वन्द्वमा रहेको बेला उद्योगीहरुको नेतृत्व गर्दै पश्चिम नेपालको समग्र उद्योगी, व्यवसायी, आर्थिक तथा समाजिक क्षेत्रको सफल नेतृत्व गरेका थिए । उनले समग्र नेपालगन्ज उद्योग बाणिज्य संघ, यहाँका उद्योगी, व्यापारि तथा सामाजिक क्षेत्रमा अनुसरणीय योगदान पु¥याएका थिए ।

बौद्धिक व्यक्तित्व प्रसाई उद्योग वाणिज्य संघको राजनीतिका क्षेत्रमा चर्चित नाम हो । संघमा मनोनित भएपछि उनी लगायतले संघको स्वामित्वमा रहेको जग्गा अतिक्रमण हटाउने काम गरेको थियो । यद्यपी त्यो प्रयास असफल भयो । संघका कर्मचारीको अवस्था बेहाल थियो । तलब अति कम भएपछि तलब बृद्धि गर्ने काम उनकै पालमा भएको थियो, त्यसबेला संघको भौतिक संरचना राम्रो थिएन ।

संघको बिधान पनि एक पन्ने थियो । त्यसलाई संशोधन गर्ने काम भयो । निर्वाचन गराउन दबाब दिइयो । २०५३ सालमा निर्वाचन भयो । तत्कालिन उपाध्यक्ष विजयमान पति र प्रसाईबीच प्रतिस्पर्धा भयो । १५ जना कार्यसमितिमा १२ जना प्रसाई पक्षका विजयी भए । निर्वाचन जिते पनि उनी सामु धेरै चुनौती थिए । ती चुनौती उनले क्रमशः पार गर्दै काम गरे ।

त्यसबेला उद्योगी, व्यवसायीहरुलाई हेर्ने प्रहरीको नजर गलत थियो । दुहुनो गाई बनाउने चलन थियो । त्यसलाई रोक्न उनले निकै ठुलो मेहेनत गर्नुपरेको थियो । भने एकातिर टोले गुण्डाहरुले सताउने काम त्यस्तै थियो । यी सबै कुरा क्रमशः उनले समाधान गरे । एउटा कोठाबाट सुरु भएको संघको कार्यालय तीन तले भवन निर्माण भयो । संघले बिधान पायो भने भौतिक संरचनामा सम्पन्न भयो ।

यसका साथै पहिलो पटक उनी नै नेपाल उद्योग वाणिज्य महासंघमा सहभागि भए । पहिलो पटक प्रसाई केन्द्रिय सदस्य भएपछि अहिलेसम्म त्यो कार्यले निरन्तरता पाएको छ । हरेक वर्ष नेपालगन्ज उद्योग वाणिज्य संघबाट केन्द्रमा प्रतिनिधित्व हुन्छ । उनकै कार्यकालमा माइन जर्मनी कार्यक्रम सञ्चालन भयो । ३ सय सदस्य रहेको संघलाई उनकै कार्यकालमा १८ सय सदस्यको धनी बनाइएको थियो ।

उनी नेपाली काँग्रेस बाँकेका पूर्व कोषाध्यक्ष समेत हुन् । सांग्रीला विकास बैंकका अध्यक्ष समेत रहेका उनी विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेर अतुलनिय योगदान दिएका थिए । 

समग्र व्यवसायीका अभिभावक अच्युत प्रसाद प्रसाईंको आज सोमबार विहान मेडीसिटी अस्पताल काठमाण्डौंमा उपचारका क्रममा निधन भएको हो । 

achhyut_sradhanjali-2-1723477018.jpg
यसैबीच, नेपालगन्ज उद्योग वाणिज्य संघले सोमबार संघ परिसरमा शोक सभा आयोजना गरि अच्युतलाई स्मरण गरेको छ । सोक्रममा संघका पूर्वअध्यक्षहरु नन्दला वैश्य, कृष्णप्रसाद श्रेष्ठ, निर्वतमान अध्यक्ष अब्दूल वाहिद मन्सुरी तथा संघ अध्यक्ष टंकबहादुर धामीले स्वर्गीय अच्युतको योगदानमाथि चर्चा गर्दै उनले देखाएको पथमा हिँड्ने बताएका थिए । सोक्रममा नेपालगन्जका दुई दर्जन बढि उद्योगी व्यवसायीहरु उपस्थित रहेका थिए । प्रसाईको निधनमा संघले आफ्नो झण्डा आधा झुकाएकोछ ।