ढकेरी स्कुल बसको ठक्कर घटना फ्लोअपः मृतक गोविन्दको परिवारलाई स्कुलले साढे २१ लाख क्षतिपूर्ति दिने सहमती

मृतकका नौ महिने छोरालाई जहाँ पढाए पनि कक्षा १२ सम्मको खर्च सोही विद्यालयले ब्यहोर्ने


सेतोखरी सेतोखरी   मंगलबार, साउन २९, २०८१
ढकेरी स्कुल बसको ठक्कर घटना फ्लोअपः मृतक गोविन्दको परिवारलाई स्कुलले साढे २१ लाख क्षतिपूर्ति दिने सहमती

नेपालगन्ज २९ साउन : ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलको बसको ठक्करबाट ज्यान गुमाएका स्थानीय गोविन्द ओलीको परिवारलाई क्षतिपूर्ति बापत साढे २१ लाख रुपैयाँ दिने सहमति भएको छ । 

कोहलपुर नगरपालिका वडा नम्बर–१२ चप्परगौडी स्थित ज्ञानकुञ्ज स्कुलको बसको ठक्करबाट गोविन्दसहित २१ वटा खसी बाख्राको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्  ढकेरी स्कुल बसको ठक्कर अपडेट: स्थानीय गोविन्द ओलीको मृत्यु, बस ड्राइभर फरार

स्कुल बसको ठक्करबाट बाख्रा चराउन गएका राप्तीसोनारी गाउँपालिका–९ खैरीका २६ वर्षीय गोविन्द ओलीको र २१ खसी÷बाख्राको गत साउन २४ गते मृत्यु भएको थियो ।  

Kanti Aarogya Hospital Nepalgunj

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ स्थित महेन्द्र राजमार्ग अन्तरगतको ढकेरी सडक खण्ड नजिक झिझिरी खोलाको ओरालोमा ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले कुल्चिदाँ गोविन्द ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकका ओलीका लागि लागि १५ लाख र २१ खसी बाख्राको लागि जनही २५ हजारका दरले साढे २१ लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो । स्कुल सञ्चालक समितिले उक्त रकम २५ दिनभित्र १५ लाख र बाँकी रकम बीमाको रकमसँगै उपलब्ध गराउने सहमति भएको छ ।

त्यस्तै, मृतकका नौ महिनाका छोरालाई जहाँ पढाए पनि कक्षा १२ सम्मको खर्च सोही विद्यालयले ब्यहोर्ने सहमति भएको छ ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार कोहलपुर नगरपालिका–१३ का २५ वर्षीय बसका चालक प्रकाश सुनार प्रहरी नियन्त्रणमा छन् । दुर्घटनालगत्तै फरार सुनारलाई प्रहरीले दुई दिनपछि स्कुलको समन्वयमा नियन्त्रणमा लिएको थियो । 

प्रहरी हिरासतमा रहेका चालकले बसको ब्रेकले एक्कासी काम नगर्दा दुर्घटना भएको प्रहरीसमक्ष बयान गरेका छन् ।

‘त्यो घुम्तीमा उताबाट कार आइरहेको थियो र मैले एकाएक खसी÷बाख्रा र मानिसलाई सडक किनारमा देखेपछि बस नियन्त्रणमा लिने प्रयास स्वरूप ब्रेक हान्दा पनि ब्रेकले काम नगरेपछि नसोचेको दुर्घटना हुन पुग्यो,’ चालकको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने ।

हाल चालक ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन् । अदालतबाट पहिलो पटक म्याद थप भइसकेको हुँदा चालक सुनारसँग थप बयान अब अदालत आफैले लिने बाँके प्रहरीले जनाएकोछ ।

स्कुल बसको ठक्करबाट ओली र खसीबाख्राको मृत्यु भएपछि स्थानीयबासीले महेन्द्र राजमार्ग (पूर्वपश्चिम) अवरुद्ध गरेका थिए । भने बसमा रहेका विद्यार्थी सबै सकुसल थिए ।