बैजनाथको शिक्षा क्षेत्रमा क्रमिक सुधार


विजय मल्ल विजय मल्ल   शनिबार, भदौ १, २०८१
बैजनाथको शिक्षा क्षेत्रमा क्रमिक सुधार

नेपालगन्ज १ भदौ : बैजनाथ गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमको प्रभावकारिताले यतिबेला गाउँपालिकाको शिक्षा क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै आएको छ ।जनसंख्याका आधारमा देशकै सबै भन्दा ठूलो गाउँपालिका रहेको बैजनाथ यतिबेला गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका प्रयासमा अग्रसर रहेको पाइएको छ ।

विद्यालय भर्ना नहुने, भर्ना भएपनि बीचमै विद्यालय छाड्ने र बालबालिकाको विद्यालयमा उपस्थिती न्यून जस्ता चलन हट्दै गएको छ, भने विद्यालयमा विद्यार्थीको उपस्थिती, टिकाई दरका साथै शिक्षण सिकाई उपलब्धीमा समेत बढोत्तरी हुँदै गएको छ ।

यहाँ आधारभूत शिक्षा निःशुल्क तथा अनिवार्य र माध्यामिक शिक्षामा निःशुल्क अवधारणा लागु छ । विद्यालयमा स्वच्छ खानेपानी, बालमैत्री, छात्रामैत्री तथा अपांगमैत्री शौचालय पर्याप्त रुपमा निर्माण भइसकेका छैनन् । यद्यपी यी विषयलाई मुख्य एजेण्डाका रुपमा आत्मसाथ गरेर गाउँपालिका अघि बढेको पाइन्छ । 

विद्यालय छाड्ने दरलाई शून्यमा झार्न गाउँपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकूद शाखा लागिपरेको छ, भने विद्यालय भवन सुरक्षित तथा भूकम्प प्रतिरोधी बनाउँदै लागिएको छ । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउन शिक्षक तथा कर्मचारीलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यमा क्षमता अभिवृद्धि गर्दै लगिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

Baijanath_gaupalika_banke-1716713250.jpg
समुदायमा चेतनास्तरमा वृद्धि गरी शिक्षाप्रति चासो, चिन्ता तथा उत्प्रेरणा जगाउनु, शैक्षिक क्षति न्यून गर्नु र विद्यालयमा पर्याप्त भौतिक सुविधा सम्पन्न गरी पठनपाठन प्रक्रियालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन तत्कालिन तथा दीर्घकालिन चुनौतिहरु पहिचान र समाधान गर्दै बैजनाथ अघि बढिरहेको छ । यसका लागि योजनाबद्ध रणनीतिक रुपमा गाउँपालिका अग्रसर छ ।

शैक्षिकस्तर उकास्नका लागि स्थानीय तहको सहयोगमा भौतिक संरचना निर्माणदेखि, विद्यालय व्यवस्थापन, शिक्षक व्यवस्थापन लगायत साक्षर पालिका घोषणा, बालमैत्री, अपाङ्गतामैत्री विद्यालयको विकास लगायतका कामहरु भइरहेका छन् ।

बैजनाथलाई २०७८ असोज २२ गते ‘साक्षर गाउँपालिका’को रुपमा घोषिणा गरिसकिएको छ । बैजनाथमा पुरुष साक्षरता ९३.९७ प्रतिशत र महिला साक्षरता दर ८७.०९ प्रतिशत रहेको छ । बैजनाथ गाउँपालिका अन्तर्गत उच्च माध्यमिक विद्यालय अर्थात् प्लसटु स्तरका ४ वटा सरकारी विद्यालय सञ्चालनमा छन् । कक्षा ९ देखि १० सम्मका १४ वटा विद्यालय छन् । १ देखि ८ सम्मका १० वटा आधारभूत विद्यालय र १ देखि ५ सम्मका १० वटा आधारभूत विद्यालय गरी कूल ३८ वटा विद्यालय गाउँपालिकाभित्र सञ्चालनमा रहेका छन्, भने संस्थागत १८ विद्यालय रहेका छन् । जसमा मावि (१–१० कक्षा) १३ वटा र आधारभूत तह ५ वटा गरी १८ वटा विद्यालय रहेका छन् ।

Prakash_Shahi_Chair_Baijanath-1-1721540686.jpg
बैजनाथ गाउँपालिकामा सञ्चालित विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालय १० वटा, कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालय १० वटा, कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालय १४ वटा, कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालय ४ वटा, धार्मिक विद्यालय (मदरसा) २ वटा,  गुरुकुल १ वटा, बालविकास केन्द्र ६० वटा, सामुदायिक अध्ययन केन्द्र २ वटा, संस्थागत विद्यालय ( कक्षा १—५) ४ वटा, संस्थागत विद्यालय (कक्षा १—८) १ वटा र संस्थागत विद्यालय (कक्षा १—१०) १३ वटा गरि कुला १२० वटा विद्यालय सञ्चालनमा रहेका छन् ।

बैजनाथनमा शैक्षिक तहगत शिक्षकको दरबन्दी २ सय ४२ जना रहेका छन् । प्रावि स्थायी १०१ र राहत ६८ जना, निमावि स्थायी २६ जना र राहत २६ जना, मावि स्थायी १८ र राहत ८ जना गरि कुल २४२ जना दरबन्दी अनुसार शिक्षक रहेका छन् । कुल १२० वटा कक्षा सञ्चालन हुने विद्यालयमा २१ हजार ४ सय २३ जना बालबालिका अध्ययनरत छन् ।

बैजनाथमा कक्षागत विद्यार्थी संख्यामा बालविकासमा ४ हजार १ सय १५ जना, कक्षा १ देखि ५ सम्म ८ हजार ८ सय ५, कक्षा ६ देखि ८ सम्म ४ हजार ९ सय २६ जना, कक्षा ९ र १० मा २ हजार ९ सय ४३ जना र कक्षा ११ र १२ मा ६ सय २८ जना गरि कुल २१ हजार ४ सय २३ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षा शाखाले जनाएको छ ।

बैजनाथले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । हरेक परिवर्तन शिक्षामार्फत सम्भव हुने भएकाले बर्सेनी शिक्षा क्षेत्रको बजेट बढाउँदै लगेको गाउँपालिकाले जनाएको छ । शैक्षिक पहुँचलाई सुनिश्चितता गर्न गाउँपालिका दत्तचित्त भएर लागिपरेको छ । शिक्षण सिकाई सुधार गर्न क्षमता अभिबृद्धिका विभिन्न कार्यक्रम सञ्चालनमा रहेका छन् ।

‘बैजनाथ गाउँपालिकालाई शैक्षिक हब बनाउनुपर्छ भनेर हामी लागिपरेका छौं,’ गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले भने, ‘यसका लागि विभिन्न विद्यालयको नियमित अनुगमनसँगै शैक्षिक तथा भौतिक संरचना कस्तो छ भन्दै पहिचान गरि ती समस्या समाधान गरिरहेका छौं ।’

Baijanath_education-5-1723885402.jpg
बैजनाथ–८ थपुवास्थित थपुवालाई कृषि क्याम्पसका रुपमा अघि सारेको र त्यहाँ लगभग भौतिक संरचना पुरा भइसकेको अध्यक्ष शाहीले बताए । 

‘विद्यार्थी संख्या अत्यधिक भएको सूर्योदय माविमा ४ कोठे भवन बनाइसकेका छौं, समग्र विद्यार्थी संख्याको आधारमा शिक्षण हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छौं,’ अध्यक्ष शाहीले भने, ‘गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने कुरालाई जोड दिएका छौं ।’ 

बैजनाथमा छोरी पढाउने सबैमा सोंच छ तर, आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षाबाट वञ्चित नहोउन् भन्नका लागि पालिकाले ‘छोरी पढाऔं’ अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष शाहीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०-०८१ को बजेटमा ‘छोरी पढाऔं’ अभियान अन्र्तगत पालिकाका ४ वटा विद्यालयमा कक्षा ११ र १२ पढ्ने छात्राहरुलाई ५० प्रतिशत (शुल्क) अनुदान प्रदान गरिएको छ । 

‘घरको चुलोचौको र बिवाह गरेर पराई घर जाने छोरीलाई उच्च शिक्षा प्राप्तिका लागि बाटो खुला गरेको छ । कम्तिमा उच्च शिक्षा अध्ययन गरेकी छोरीले जीवन निर्वाहका लागि थुप्रै काम गर्न सक्नेछिन्,’ अध्यक्ष शाहीले भने, ‘विशेष गरी छात्राहरुलाई विद्यालयतर्फ आर्कषण गराउनुका साथै शैक्षिक बौद्धिकता दिएर उनीहरुलाई अघि बढाउने यो अभियानको उद्देश्य हो ।’

छोरी मान्छे बिवाह भएर जाने भन्ने मान्यताका साथ छोरीलाई अगाडी नबढाउने परम्परा तोड्न यो अभियान लागु गरिएको हो । साथै अति विपन्न, दलित, अल्पसंख्यक, अपांगताहरुलाई समेत समेटेर विभिन्न शैक्षिक कार्यक्रम गरिरहेको गाउँपालिकाले जनाएको छ । 

बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकालका अनुसार छात्राहरुको बिद्यालय छाड्ने दर घटाउन र अध्ययनमा निरन्तरता दिनका लागि कक्षा ११ र १२ अध्ययन गर्ने छात्रालाई ५० प्रतिशत छात्रवृत्ति गाउँपालिकाले दिएको छ । 

Bishworaj_Dhakal_baijanath-2-1723885475.jpg
गाउँपालिकाभित्र रहेका ४ वटा मावि तहका ५ सय ७७ बालिका (छात्रा)लाई प्रोत्साहनका लागि ५० प्रतिशत छात्रवृत्ति स्वरुप उक्त अनुदान सहयोग गरिएको हो । ती ४ वटा माविको कक्षा ११ र १२ मा अध्ययन गरिरहेका सबै छात्रालाई प्रदान गरिने अनुदानले विद्यालय बाहिर रहेका बालिकाको शिक्षामा पहुँच सुनिश्चिततासँगै टिकाई राख्न यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । उनका अनुसार गाउँपालिकाले उक्त रकम ती विद्यालयको खातामा सिधैंै पठाएको छ ।

यसका साथै गाउँपालिकाले टिनको छाना मुक्त गर्ने अभियान अन्तर्गत बैजनाथ–१ गाभरस्थित रारा माविको भवन टिनको छाना मुक्त गरिसकेको छ, भने क्रमिक रुपमा अन्य विद्यालयमा यो कार्यक्रम लागु भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘बजेट अभावमा एक वडा एक नमुना विद्यालय बनाउने योजना हुन सकेको छैन, गाउँपालिकाको १६ वटा माविमा छात्रा आराम कक्ष निर्माण गर्ने योजना अनुरुप आर्थिक वर्ष २०८०-०८१ मा सूर्योदय मावि चिसापानीमा छात्राका लागि आराम कक्ष निर्माण भइसकेको छ, भने अन्य विद्यालयमा क्रमशः निर्माण गरिनेछ, गाउँपालिकामा एक वडा एक नर्स कार्यक्रम लागु भइसकेको छ ।’

‘विद्यालयको शैक्षिक गुणस्तर र प्रविधिमैत्री बनाउन हामीले प्रायः सबै विद्यालयमा कम्प्यूटर प्रणाली लागू गरेका छौं,’ शिक्षा शाखा प्रमुख शोभा ढकालले भनिन्, ‘कम्प्युटर र इन्टरनेट सिकाईको प्रयोगले गर्दा शैक्षिक गुणस्तर धेरै हदसम्म आकर्षक र प्रभावकारी बनेको छ ।’ 

गाउँपालिकाले विभिन्न ८ वटा विद्यालयमा ‘टकिङ टिचर’ कार्यक्रम सञ्चालन गरेको छ । जनजागरण आधारभूत विद्यालय करेली, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कलरामपुर, समावेशी माध्यमिक विद्यालय तिलकपुर, सूर्यज्योति प्रावि कलरामपुर, ज्योति आधारभूति विद्यालय गडरही, सिंह भवानी आधारभूत विद्यालय बनकटवा, सरस्वती आधारभूत विद्यालय वैरहवा र जनसहयोगी प्राथमिक विद्यालय फत्तेपुरमा यो कार्यक्रम लागू गरिएको छ । 

‘टकिङ टिचर’ प्रणाली भनेको लेखिएको अक्षरलाई छुँदा सोको कम्प्युटर वा बोर्डले त्यसको उच्चारण गर्दछ, यसले गर्दा विद्यार्थीलाई पढ्न, शब्द सुन्न र त्यसको शुद्ध उच्चारण गर्न सहज भएको छ,’ शिक्षा शाखा प्रमुख ढकालले भनिन् । अभिभावकको गरिवी, बेरोजगारी र शैक्षिक चेतना अभावले गर्दा उमेर पुगेका कतिपय बालबालिका विद्यालय जानबाट बञ्चित छन् । यसका लागि बैजनाथ गाउँपालिकाले अनिवार्य र निःशुल्क शिक्षा घोषणा गरेको छ । ‘आधारभूत कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी हामीले गाउँपालिकाभरी निःशुल्क मात्रै होइन, सबैले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई विद्यालय पढाउनुपर्ने नीति लागू गरेका छौं,’ ढकालले थपिन् । 

Shobha_Dhakal_Baijanath-1-1723885430.jpg
यसैगरी, माध्यमिक र आधारभूत विद्यालय तहका सम्पूर्ण छात्राका लागि स्यानिटरी प्याड निःशुल्क गरिएको छ । अंग्रेजी विषयमा विद्यार्थीहरु कमजोर नहोऊन् भनेर सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुका लागि अंग्रेजी बिषयको तालिम समेत सञ्चालन बैजनाथले गरेको छ ।

शिक्षा शाखा प्रमुख ढकालका अनुसार ‘छोरी पढाऔं’ अभियान अन्र्तगत उक्त आर्थिक वर्षमा गाउँपालिकाले बागेश्वरी मावि गाभर, जनता आर्दश मावि जब्दहवा, प्रभात मावि जिगाउँ र सूर्योदय मावि चिसापानीलाई समेटेको छ । यी ४ विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने ५७७ छात्रालाई समेटेको छ । 

शैक्षिक आकर्षणका लागि आवासीय र गैरआवासीय छात्रवृत्ति वितरण गरिएको छ । कतिपय अभिभावकहरु यो हदसम्म गरिवीको दुस्चक्रचमा जेलिएका छन्, कि पुस्तकसमेत किन्न सक्ने उनीहरुको क्षमताले भ्याउँदैन । ‘यही यथार्थलाई मध्यनजर गरेर हामीले कक्षा एकदेखि १२ सम्मका सम्पूर्ण विद्यार्थीका लागि पाठ्यपुस्तक निःशुल्क गरेका छौं,’ शिक्षा शाखा प्रमुख ढकालले भनिन् ।

शिक्षाप्रति बैजनाथका जनप्रतिनिधि, कर्मचारी, अभिभावक, शिक्षक र विद्यार्थी लगायत सबैको चासो र चिन्ता देखिन्छ । शिक्षाको जग मानिने विद्यालय शिक्षा नै कमजोर भएमा उच्च शिक्षा मजबुत हुन सक्दैन । ‘बैजनाथलाई शैक्षिक हबका रुपमा विकास गर्ने भन्ने योजना अनुरुप हामी सबै लागिपरेका छौं,’ बैजनाथ गाउँपालिका वडा नम्बर–३ का वडाअध्यक्ष निखिल बैगारले भने, ‘एक वडा एक नमुना विद्यालयदेखि शिक्षकको पेशागत क्षमता अभिवृद्धि गर्ने, मनोरञ्जनपूर्ण विधिबाट शिक्षण सिकाई, भौतिक संरचनाको निर्माण तथा शैक्षिक सामाग्रीको व्यवस्थापन र गरिव तथा विपन्न छात्रालाई छात्राबृत्ति प्रदान गरिरहेका छौं ।’ छोरी पढाऔं अभियानले बैजनाथका सबै बालिकालाई समेटेको र उनीहरुको उच्च शिक्षा प्राप्ति गर्ने उद्देश्यलाई सुनिश्चित समेत गरिदिएको उनी बताउँछन् ।