नेपालगन्ज ३ भदौ : आज श्रावण शुक्ल पूर्णिमा । आजका दिन मनाइने जनैपूर्णिमा पर्व देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइएको छ ।
जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।
यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबिच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।