नेपालगन्ज ३ भदौ : बझाङको बिकट बुङ्गल नगरपालिका वडा–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
गाउँमा एक्लै रहेको स्थानीय बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीकी श्रीमती ५५ वर्षीया काली धामी, २५ वर्षीया बुहारी गोल्की धामी र नातिनीहरू ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको पहिरोमा च्यापिएर मृत्यु भएको छ ।
राती सुती रहेको समयमामा घरको माथिबाट पहिरो आउँदा उनीहरुको मृत्यु भएको हो । भने घरमा रहेका अन्य ६ जनालाई स्थानीयहरूले उद्धार गरेर बाचाउन सफल भएको प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले जानकारी दिए ।
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतबिच्छेद बनाएको छ । तत्काल गाउँलेको प्रयासले ५ जनाको जीवितै उद्धार गरिएको स्थानीय भरत महराले भने,‘गाउँबाट दुई किलोमिटर टाढा एक्लै घर भएकाले अन्य गाउँका मानिसले समेत घटनाको बारेमा ढिलो थाहा पाए । घटनाको बारेमा जानकारी पाउना साथ प्रहरीलाई खबर गरेका थियौं । राती भारी वर्षा र अन्य घटनाको समेत जोखिमको सम्भावना भएकाले प्रहरी टोली समेत बिहान मात्र आई पुगेको थियो ।’
भिरालो जमिन र जोखिमपूर्ण बसाई भएकाका कारण यो दुर्घटना निम्तिएको समेत स्थानीयको भनाई छ ।
स्थानीयहरू रातभर लागे पनि उद्धारमा कठिनाइ भइरहेको थियो । बिराका छोरा उज्ज्वल धामी भने भागेर बाँच्न सफल भएका थिए । उनले स्थानीयलाई गुहारेकाले बिरा धामी, बिराकी छोरी कमला धामी, नाति र एक बुहारीको जीवितै उद्धार गरिएको थियो । घटनास्थलतर्फ प्रहरी नायव उपरीक्षक भण्डारी सहितको टोली समेत गएको छ ।