नेपालगन्ज ३ भदौ : कल्पवृक्ष वृक्षारोपण गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले ‘घरघरमा विरुवा, टोलटोलमा वृक्षारोपण’ अभियान शुभारम्भ गरेकाछन् ।
आयोजक डिभिजन वन कार्यालय बाँके निमित्त प्रमुख विरेन्द्र रोकाले अभियान अन्तर्गत बाँके जिल्लाका सामुदायिक विद्यालय, धार्मिक स्थल, निजी घरमा वृक्षारोपण गरिने योजना रहेको बताए ।
अभियानका क्रममा अमला, नीम, सितलचिनी, टंकी, सिसौं, पारिजातको फुल, कल्पवृक्ष र श्रीखण्डका विरुवा रोपिने उनले जानकारी दिए ।
अभियानको पहिलो दिन आईतबार जानकी गाउँपालिका वडा नम्बर–४ मा रहेको इमला बाबा जंगली दास आश्रम राम जानकी मन्दिर, खजुरा वडा नम्बर–२ के गाउँ स्थित नव भगवती मन्दिर, हरित सिर्जना सामुदायिक वन उपभोक्ता समुहको कार्यालय, जगनिया माता मन्दिर, खजुरा गाउँपालिका वडा नम्बर–५ मा रहेको माई भगवती मन्दिरमा वृक्षारोपण गरिएको थियो ।
अभियानका क्रममा वातावरणीय असरलाई कम गर्दै मानिसलाई स्वस्थ रहन सहयोग गर्ने विरुवाहरु रोपिने वन तथा वातावरण मन्त्री कुर्मीले बताए ।
उनले भने,‘वातावरण राम्रो भयो भने हामी सम्पुर्ण कुरा गर्न सक्छौं । स्वास्थ्य राम्रो भएन हामी केहि गर्न सक्दैनौं । अहिले प्रमुख समस्या भनेको वातावरण प्रदुर्षण हो । यसलाई कम गर्न वृक्षारोपण आवश्यक छ ।’
वृक्षारोपण भनेको पुण्य काम भएकोले यसमा सबै नागरिकको साथ, सहयोग र सहकार्यको चाहिने मन्त्री कुर्मीले बताए । वृक्षारोपण अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा वातावरण प्रदुर्षणलाई कम गर्ने खालका विरुवाहरु वृक्षारोपण गरिने उनले जानकारी गराए ।
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नमा हरेक वर्ष वृक्षारोपण अभियान महत्वपुर्ण हुने डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेका निमित्त प्रमुख विरेन्द्र कुमार रोकाले बताए । मन्त्री कुर्मीले एकै दिन पाँच स्थानमा वृक्षारोपण गरेर सुभारम्भ गरेको अभियान प्रभावकारी रुपमा अगाडी बढने डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले बताए ।
आईतबार बाँकेको क्षेत्र नम्बर–३ मा भएको वृक्षारोपण अभियानको सहजीकरण राँझा सव डिभिजन वन कार्यालयका प्रमुख वरिष्ट वन अधिकृत राज बहादुर चौधरीले गरेका थिए ।
बाँकेमा सुरु भएको वृक्षारोपण अभियानमा पारिवारिक निजी वन संघ नेपाल बाँके, निजी वन सरोकार संघ बाँकेले पनि सहजीकरण गरिरहेका छन् । अभियानको शुभारम्भ कार्यक्रममा पारिवारिक निजी वन संघ नेपाल बाँके अध्यक्ष सुनिल घिमिरे, निजी वन सरोकार संघ बाँके अध्यक्ष अमर रावतको पनि सहभागिता रहेको थियो ।