आन्तरिक पर्यटन प्रर्बद्धन : चुरे हाईकिङसँगै सन्तानेश्वर मन्दिरको दर्शन


सेतोखरी सेतोखरी   मंगलबार, भदौ ४, २०८१
आन्तरिक पर्यटन प्रर्बद्धन : चुरे हाईकिङसँगै सन्तानेश्वर मन्दिरको दर्शन

नेपालगन्ज ४ भदौ : नेपालगन्जदेखी पुर्वमा हुलाकी सडक हुँदै करिव २५ किलोमिटर यात्रा पार गरेपछि बाँकेको नरैनापुर आउँछ । सडकको यात्रापछि त्यहाँबाट करिव ६ किलोमिटर उत्तरतर्फ जंगलको कच्ची बाटोमा मोटरसाइकल यात्रा गर्नुपर्छ । त्यसपछि करिव दुई किलोमिटर पैदलमा उकालो (पहाड) चढेपछि सन्तानेश्वर महादेव मन्दिरमा पुग्न सकिन्छ ।

चुरे पहाडको चुचुरोमा रहेको मन्दिर दर्शनसँगै प्राकृतिक मनोरमको दृश्यले यहाँ जो कोहीको मनलाई आनन्दित बनाउँछ । चुरे पहाडमा हाईकिङसँगै मन्दिरमा पुजाआजा गर्नेको यहाँ बाह्रै महिना घुईचो लाग्ने गर्छ । विशेषगरी हरेक वर्ष साउन महिनामा अझ धेरै दर्शनार्थीहरु आउने गर्छन । ब्रतालु महिलाहरु आएर शिव भगवानको पुजा र भाकल गर्छन्।

नेपालसहित भारतका विभिन्न स्थानबाट चुरे हाईकिङसँगै मन्दिर दर्शन गर्नेहरु यहाँ आउँछन । पछिल्लो समयमा यो ठाउँ निकै चर्चामा रहेको छ । मन्दिरमा वर्षेनी धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । शहरको ‘कोलाहल’ वातावरण भन्दा शान्त ठाउँ मन पराउनेहरुका लागि यो उपयुक्त स्थान मानिएको छ ।

 

Kanti Aarogya Hospital Nepalgunj

त्यसैले यहाँ अन्य दिनको तुलनामा सार्वजनिक बिदाको दिन बढी भिडभाड हुन्छ । समय मिलाएर यहाँ नेपाल र भारतका विशिष्ट व्यक्तिहरु समेत पुग्ने गर्छन । छाटो समयमै मानिसको आर्कषण बढेकाले यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेको देखिन्छ । मन्दिरको संरक्षण बाबा योगानन्द गिरीले गरिरहेका छन । मन्दिर नजिकै उनको आश्रम रहेको छ ।

आवश्यक पुर्वाधार नबन्दा आश्रमको अवस्था दयनीय देखिन्छ । पुर्वाधार विकासका हिसाबले पछाडी परेपनि मन्दिरको महत्वका कारण यहाँ उल्लेख्य मात्रामा दर्शनार्थी आउने गरेको संरक्षक गिरी बताउँछन । उनका अनुसार सन्तानेश्वर महादेव मन्दिरको महत्व बेग्लै रहेको छ । यहाँ सन्तान नभएकाहरुले भाकल गरी स्वच्छ मनले पूजा अर्चना गरे सन्तान लाभ हुने धार्मिक विश्वास रहेको छ । सन्तानेश्वरमा ‘ओम आकार’ पहाडको चुचुरोमुनिबाट गंगा, जमुना र सरस्वती प्रवाहित भएको हुँदा विशेष महत्व र पुण्य भुमी रहेको गिरी बताउँछन ।

‘गंगा, जमुना र सरस्वती सन्तानेश्वरको पहाडको तलबाट तीन वटा गंगा प्रवाहित भएका छन,’ गिरीले भने ‘पुर्व एक, पश्चिम एक र दक्षिण एक । यहाँ तीन वटै चिज प्रवाहित भएको हुनाले यो विशेष महत्वपूर्ण र पुण्य भूमी छ ।’ धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा मन्दिरसम्म सडकको सुविधा, बिजुली, खानेपानी र भक्तजनहरुलाई एक रातसम्म बसाल्न मिल्ने विश्रामस्थल लगायतका पुर्वाधार आवश्यक रहेको उनी बताउँछन ।

चुरे हाईकिङसँगै मन्दिर दर्शन गर्न पाउँदा यहाँ पुग्ने दर्शनार्थीहरु दंग पर्छन । ‘हाईकिङसँगै पहाडको चुचुरोमा रहेको मन्दिर दर्शन गर्नका लागि यो ठाउँ एकदमै पवित्र छ,’ नेपालगन्जबाट पुगेका दर्शनार्थी यमबहादुर खड्काले भने ‘पहाडको फेदसम्म पुग्नलाई बाटोको राम्रो सुविधा भयो भने माथी चुचुरोसम्म पैदल हिडेर जानलाई समस्या हुदैन ।’
सन्तानेश्वर महादेव मन्दिर अवस्थित क्षेत्र निकै रमणीय रहेको उनी बताउँछन । मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि आवश्यक पुर्वाधार निर्माण गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थी बताउँछन । ‘यो मन्दिर र धर्मशालालाई व्यवस्थित गर्नुपर्ने देखिन्छ, बाहिरबाट आउने भक्तजनलाई बस्न र खाने सुविधाका लागि आवश्यक संरचना बनाइयो भने कम्तिमा पनि एक रात बसेर धार्मिक कार्य गर्ने दर्शनार्थीको बढी चहल पहल हुन्थ्यो,’ बर्दियाबाट आएका दर्शनार्थी मानबहादुर केसीले भने ।

चुरे पहाडको चुचुरोसम्म पैदल हिडेर मन्दिर दर्शन गर्दा बेग्लै खालको आनन्द मिलेको उनी सुनाउँछन । स्थानीय, प्रदेश र संघीय सरकारले सन्तानेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न आवश्यक रहेको यहाँ पुग्ने दर्शनार्थीहरुको सुझाव छ । मन्दिरको विकासका लागि स्थानीय सरकारले केही प्रयास गरेपनि पर्याप्त छैन ।

नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य स्थानीय सरकारको एक्लो प्रयासले मात्र सन्तानेश्वर महादेव मन्दिरको समग्र विकास गर्न सम्भव नरहेको बताउँछन । ‘हामीसँग भएको बजेटबाट मन्दिरको विकास गर्न असम्भव नै छ, यसका लागि प्रदेश र संघिय सरकारले ठुलो बजेट विनियोजन गर्न जरुरी छ ।’ मन्दिर क्षेत्रमा धेरै पुर्वाधार निर्माण गर्न आवश्यक देखिएको वडाअध्यक्ष मौर्यले सुनाए ।