लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुई तिहाइ सांसदको विश्वास


सेतोखरी सेतोखरी   मंगलबार, भदौ ४, २०८१
लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुई तिहाइ सांसदको विश्वास

नेपालगन्ज ४ भदौ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट दुइ तिहाइ विश्वासको मत पाएका छन् ।

नेपाली काँग्रेससंगको गठबन्धनबाट गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले मंगलबार (भदौ ४) मा प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । 

उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे । लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उक÷एक जना गरी १७ सांसद प्रतिपक्षमा रहेका छन् ।

मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन् । दल नेता चयन भएपछि उनले आज विश्वासको मत लिएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ ।  

काँग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल काँग्रेस, एमालेले ह्वीप जारी गरेका थिए ।

मुख्यमन्त्री आचार्यलाई प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये सरकारमा जान चाहेका जसपाका २, जसपा नेपालका एकजना र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन छ ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । सत्तारुढ दुई दलकै स्पष्ट बहुमत रहेको र साना दल समेत सत्ता पक्षमा रहेकाले यसअघि विश्वासको मत पाउने निश्चित बनेको हो ।

शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलोपटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हालेका थिए । मुख्यमन्त्री आचार्य एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।