दशौं राष्ट्रिय खेलकुदः समयमा हुने कि नहुने ठेकेदारको हातमा

खाना र बासकै समस्या, केही खेल बाँकेमा गर्ने तयारी


विजय मल्ल विजय मल्ल   बुधबार, भदौ ५, २०८१
दशौं राष्ट्रिय खेलकुदः समयमा हुने कि नहुने ठेकेदारको हातमा

नेपालगन्ज ५ भदौ : आगामी मंसिरमा कर्णाली प्रदेश हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा अझैं अन्यौलता देखिएकोछ ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको काउनडाउन सुरु भइसकेको अवस्थामा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता समयमै हुनेमा अन्यौलता रहेको बताए ।

खेलकुदमन्त्री चौधरीले प्रतियोगिता समयमै हुने विषयमा ठेकेदारको हात रहेको बताउँदै ठेकेदारले अबको ३५ दिनभित्र सम्पूर्ण काम सकेमा समयमै प्रतियोगिता हुने बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेर प्रतियोगिताको सम्पूर्ण बस्तुस्थिति बुझेर नेपालगन्ज फर्किएका मन्त्री चौधरीले नेपाल प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा आयोजित पत्रकारसम्मेलनमा कुरा गर्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समयमै नभएपनि केही खेलहरु पहिल्यै हुने बताए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

‘ठेकेदारले समयमै काम नसकेमा प्रतियोगिता ढिलोमा फागुन अन्तिमतिर सर्नसक्ने सम्भावना छ’ मन्त्री चौधरीले अगाडी भने–‘कि तोकिएको मिति मंसीरमै हुन्छ । भौतिक संरचनाका कारण ढिलाई भएमा फागुनको अन्तिमसम्म पुग्छ ।’ मन्त्री चौधरीले उद्घाटन अलि पर सरेपनि केही खेल अगाडि खेलाउने गरि तयारी अघि बढेको बताए ।

यसपटकको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल राखिएको छ । त्यसमध्येमा २२ वटा खेलमात्रै कर्णालीमा हुन्छ । बाँकी खेल नेपालगन्जलगायत अन्यत्र गर्ने तयारी छ ।

यो पनि पढ्नुहोस् राष्ट्रिय खेलकुदको सय दिने काउनडाउन सुरु, मस्कट रेडपाण्डा राख्न प्रस्ताव

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले भने–‘कर्णालीमा २२ वटा या बढीमा २४ वटा खेल हुन्छ, अरु खेल बाँके लगायतको ठाउँमा हुनसक्छ ।’ उनले अरु प्रदेशले पनि केही खेलहरु खेलाउन मागेको खुलासा गरे ।

प्रतियोगिता अवधिभर ६–७ हजार बढिलाई खान बस्न सुर्खेतमा हम्मे–हम्मे हुने भएपछि ३६ मध्य केही प्रतियोगिता सुर्खेत नजिकका जिल्लामा गराउनुपर्ने बाध्यता देखिएको उनले बताए । 

नेपालगन्ज रङ्गशालामा बन्दै गरेको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएको विषयमा अध्ययन गर्न जाँचबुझ टोली बनाइसकेको र आफूले पनि घटनास्थलमा गएर हेर्ने मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी, उनका छोराछोरीको पढाई, स्वास्थ्य वीमा, रोजगारीका विषयमा आफू लागि परेको खुलाए ।