भैँसी खान आएको बाघ मर्‍यो


सेतोखरी सेतोखरी   बिहीबार, भदौ ६, २०८१
भैँसी खान आएको बाघ मर्‍यो

नेपालगन्ज ६ भदौ : मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ । भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले अनुमान लगाएकोछ । बाघको आयु करिब १५ वर्ष हुन्छ ।

मृत बाघ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको मकवानपुर प्रहरीले जनाएको छ ।

‘बाघ बुढो, असाध्यै दुब्लो र कमजोर रहेछ । आक्रमण गर्न खोज्दा भैंसीले नै उसलाई हानेर मारिदियो जस्तो देखिन्छ,’ चितवन निकुञ्जको सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरले भने, ‘हामीले घटनास्थलको मुचुल्का गरेर बाघलाई पोष्टमर्टमका लागि कसरा ल्याउँदैछौं । पोष्टमार्टमको रिपोर्टले वास्तविक कुरा आउला ।’

Kanti Aarogya Hospital Nepalgunj

चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जंगलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघ बस्तीतिर छिरेको हुनसक्ने बताए ।

‘कमजोर भएर अरु बाघसँग प्रतिष्पर्धा गर्न नसकेपछि बस्ती छिरेको थियो होला । भैंसी उभन्दा तगडा परेर आफैं मर्नपुग्यो,’ तिवारीले भने ।

घटनास्थलमा मृत भेटिएको भाले बाघको घाँटीभन्दा तल्लो भागमा चोट लागेको छ । भैसीलाई पनि चोट लागेको छ । यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जबाट करिब ३ सय मिटर पर रहेको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए ।