१७ हजार ९७० जना निक्षेपकर्ताको ८६ करोड रुपैयाँ ठगी, ८३५ जनाको मात्र लिखित जाहेरी दर्ता
नेपालगन्ज ६ भदौ : नेपालगन्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको मुद्दा दर्ताको तयारी गरिएको छ ।
लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट नमस्ते सहकारीमा आर्थिक हिनामिना भएको दावीसहित संलग्नलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्राचार भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट जाहेरी परेपछि प्रहरीले एक तहको अनुसन्धान गरी बचतकर्तालाई व्यक्तिगत जाहेरीका लागि यसअघि सार्वजनिक सूचना जारी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको सूचनापछि ८३५ जनाले लिखित जाहेरी दर्ता गराएका छन् ।
यो पनि पढ्नुहोस् नेपालगन्जको नमस्ते सहकारीमा रकम हिनामिना, बचतकर्तालाई जाहेरी दिन प्रहरीको माग
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी डाँगीले भने, ‘सहकारी ठगी सम्बन्धमा आवश्यक अनुसन्धान पूरा गरी मागदाबी अभियोग लिएर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ताको अन्तिम तयारी गरिएको छ ।’
सहकारीमा १७ हजार ९७० जना निक्षेपकर्ता बचतकर्ता भए पनि जिल्ला प्रहरीमा भने ८३५ जनाको मात्र लिखित जाहेरी परेको हो । जिल्ला प्रहरीले सहकारीका अध्यक्ष विष्णुबहादुर रिमालसहित सञ्चालक समिति र ब्यवस्थापनमा आबद्ध गरी १७ जना विरुद्ध मुद्दा दर्ता गर्ने भएको छ ।
अनुसन्धानको क्रममा उपस्थित नभएपछि उनीहरु विरुद्ध पक्राउपुर्जी जारी गरिएको भए पनि रिमालसहित सबै १७ जना फरार रहेको प्रहरीले जनाएको छ ।
प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा ८६ करोड रुपैयाँ ठगी भएको दाबीसहित आवश्यक अनुसन्धान गरी कारवाहीका लागि माग गरिएको छ ।