नेपालगन्ज ८ भदौ : लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले एक सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् । वन तथा वातावरण मन्त्री कुर्मीले गरेको निर्णय प्रदेशको सरकारको नीति अनुसार हाल सम्मकै ऐतिहासिक निर्णय हो ।
दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेको छ । तर, त्यसको कार्यान्वयन कुनै पनि मन्त्रालयले गरेका थिएनन् । प्रदेश सरकारले हरेक वर्ष भदौ ७ गतेसम्म कर्मचारी सुरुवा गर्नुपर्ने नीति बनाएको छ ।
त्यही नीतिलाई पालना गर्दै मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्ष भन्दा धेरै समयदेखि कार्यरत कर्मचारीहरुको सरुवा गरेका हुन् । मन्त्रालयले सार्वजानिक गरेको सरुवा लिष्टमा दुई वर्ष भन्दा बढी समयसम्म कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवामा भएको छ ।
लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरु सरुवामा परेका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समालेका मन्त्री बादशाह कुर्मीले नीतिगतरुपै निर्णय गरिएको बताए ।
उनले भने,‘एकै स्थान र जिल्लामा बसेर काम गर्दा कामको प्रभावकारिता पनि घटेर जान्छ । कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्याहरु पनि सृजना भैरहेको हुन्छ । गुनासोका आधारमा हामीले यो निर्णय गरेका हौं । कर्मचारीको कामको मुल्यांकन गर्नको लागि नियमित सरुवा आवश्यक छ ।’
अब दोस्रो चरणमा वनरक्षक तहसम्म यस प्रकारको सरुवा गर्ने योजना रहेको उनले बताए । गत वर्षपनि मन्त्रालयले ७ वर्ष बढी अबधीसम्म काम गरेका अधिकृतहरुको सरुवा गरेको थियो ।
मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तरमा भएको पहिलो निर्णय हो । हालसम्म दुई वर्षे हद कुनै मन्त्रालयले मातहतका अधिकृतलाई लगाउन सकेको छैन । सरुवाका लागि ऐनमा उक्त कुरा समाबेश भएपनि कार्यान्वयन भने यो नै पहिलोपटक देखिन्छ । सुशासन र चुस्त प्रशासनको लागि यो तवरको सरुवा प्रशंसनिय रहेको कर्मचारीहरुले बताउँछन् ।