नेपालगन्ज ८ भदौः थारु कल्याणकारीणी सभा बाँकेका नवनिर्वाचित पदाधिकारीले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
गत साउन ३२ गते सम्पन्न थारु सभा बाँकेको ११ औं अधिवेशनबाट संगिता चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति, पदाधिकारी निर्वाचित भएका थिए । निर्वाचन अधिकृत तथा अधिवक्ता राधेश्याम थारुले एक समारोहका बीच प्रमाणपत्र प्रदान गरेर पदभार ग्रहण गराए ।
उक्त कार्यक्रममा थारु कल्याणकारीणी सभा बाँकका निवर्तमान अध्यक्ष बिनोद थारुले नवनिर्वाचित अध्यक्ष संगिता चौधरीलाई माईन्यूट हस्तान्तरण गरेर पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा निर्वाचन अधिकृत राधेश्याम थारुले सभाको केन्द्रीय पार्षदमा सिफारिस भएका चन्द्र चौधरी, जीतबहादुर चौधरी, जागेश्वर सिंह थारु लगायतलाई प्रमाण पत्र प्रदान गरे ।
पदभार ग्रहण कार्यक्रममा थारु कल्याणकारीणी सभा नेपालगन्ज नगर समितिका सचिव शम्भु प्रसाद थारु, थारु पत्रकार संघ बाँकेका सचिव जागेश्वरसिंह थारु, पूर्वअध्यक्ष बिमला चौधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे ।
कार्यक्रम पश्चात टिकापुर थरुहट थारुवान बिद्रोह दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा सिंगो नेपालका थारु समुदायको हक अधिकार स्थापित गर्न थालिएको अन्दोलनका क्रममा बाहिरी घुसपैठबाट टिकारपुर घटना भएपनि राज्य अनविज्ञ जस्तो भएर सबै दोष थारुलाई देखाइरहेको बक्ताहरुले औंल्याएका छन् ।
टिकापुर घटना थारु समुदायको साझा मुद्दा भएको बताउँदै कार्यक्रमका सहभागीले घटनाका नाममा सजाय भोगिरहेका राज बन्दीहरुलाई बिना सर्त रिहाईका लागि पहल गर्न देशभरका थारुहरु एक जुट हुनुपर्ने बताए । २०७२ भदौं ७ गते भएको टिकापुर नरसंहारका कारण थारु समुदायले भदांै ७ गतेको दिनलाई कालो दिनका रुपमा मनाउँदै आएका छन् ।