नेपालगन्ज ८ भदौ : आगामी मंगलबारसम्ममा नेपालका सबै इन्टरनेट प्रदायकको नेटवर्कमा सामाजिक सञ्जाल टिकटक चल्ने भएको छ । त्यसका लागि टिकटकका प्रतिनिधिले काम गरिरहेका छन् । यद्यपी आईतबार नै सबै काम सकिएमा बेलुकादेखि चल्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् नेपालमा टिकटकमाथिको प्रतिबन्ध हटाइयो
नेपाल सरकारले यही बिहीबार (भदौ ६) गते टिकटक प्रतिबन्ध फुकुवा गरे पनि सबैतिर अझै चलेको छैन । टिकटकका प्रतिनिधिले शुक्रबार (भदौ ७) मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट गरेर सरकारले अघि सारेका चारवटै सर्त पालना गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ ।
ढिलोमा मंगबारसम्म नभए भोली आईतबार (भदौ ९ गते) बेलुकासम्म सरकारका सबै सर्त कार्यान्वयन भइसक्नेछ । बिहीबार (भदौ ६) मा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध हटाउन चारवटा सर्त अघि सारेको थियो ।
जसअन्तर्गत पर्यटन प्रबद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र नेपाली भाषा र मातृभाषाको प्रयोग नियमन गर्ने अर्थात् जे कारणले टिकटक बन्द गरियो भन्ने भएको छ, त्यो हुन नसक्नेगरी भाषा मिलाउनुपर्ने सरकारको सर्त पालना गर्न तयार रहेको टिकटकले जनाएको छ ।
‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुसी छौँ। हामी फलदायी संवादका लागि नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौँ,’ टिकटक प्रवक्ताले भनेका छन्, ‘नेपाली जनमानसको डिजिटल अनुभवको लागि वहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौँ। हाम्रो कम्युनिटीको रचनात्मकता र जोसले नेपाली घरपरिवारमा आनन्दको सञ्चार, प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरूको ढोकासमेत खोलेको छ।’
सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गराएको थियो ।
टिकटकको लाइभ स्ट्रिमिङदेखि छोटा भिडिओहरू नेपाली समाजसँग मेल नखाने भएको, सामाजिक सद्भाव खलल पु¥याएको र विषयवस्तु नियन्त्रण गर्न नसकेको भन्दै सरकारले नेपालका सबै इन्टरनेट प्रदायक कम्पनीमा टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।
यो पनि पढ्नुहोस् टिकटकमाथिको प्रतिबन्ध हटाउँदै सरकार
सरकारको प्रतिबन्धपछि टिकटकका प्रतिनिधिले निर्णय पुनर्विचार गर्न २०८० मंसिर २० मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै नेपालमा दर्ता हुन तयार रहेको, आपत्तिजनक भिडिओ हटाउन तयार रहेको प्रतिबद्धता पनि जनाएको थियो । तर, प्रचण्ड नेतृत्वको सरकारले तत्काल टिकटक खुलाउन मानेन । काँग्रेस–एमाले सरकार बने लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक प्रतिबन्ध हटाउने गृहकार्य अघि बढाएका थिए ।