भारतको विहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना : ३६ घाइते, बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर


सेतोखरी सेतोखरी   आइतबार, भदौ ९, २०८१
भारतको विहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना : ३६ घाइते,  बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर

नेपालगन्ज ९ भदौ : छिमेकी देश भारतको बिहार राज्यमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा परेको छ । 

विहारस्थित समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएकाछन् । भने बच्चासहित ८ यात्रुको अवस्था गम्भीर रहेकोछ ।

आईतबार बिहारको समस्तीपुर मुसरीघरारी चौराहा नजिक उक्त बसलाई तीव्र गतिमा दौडिरहेको ट्रकले पछाडिको टायरमा धक्का मारेपछि बस दुर्घटना परेको भनिएको छ । दुर्घटनामा बसको एक्सल टुटेको छ । जसमा अनियन्त्रित हुँदा बस सडकमै पल्टिएको हो ।

घाइतेहरूको सदर अस्पताल र मुसरीघरारीको एक निजी क्लिनिकमा उपचार भइरहेको बताइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देवघर गइरहेको बस गएराति दुर्घटनामा परेको हो । बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा करिब ४३ यात्रु रहेका थिए । स्थानीय र प्रहरीको मद्दतमा उनीहरुको उद्धार गरी अस्पताल लगिएको छ ।

मुसरीघरारी चोकनजिकै राष्ट्रिय उच्चपथ २८ मा बस पल्टिएको थियो । बसमा सवार सबै यात्रुहरू नेपालको बारा जिल्लाका रहेको बुझिएको छ ।