सुनारमण्डीमा अबैध सुनचाँदी धन्दाः ३४ तोला सुन र साढे १० किलो चाँदीसहित ४ पक्राउ

अबैध सुनचाँदी जम्मा गरि विक्रीवितरण गर्ने कालिगढ फरार


सेतोखरी सेतोखरी   मंगलबार, भदौ ११, २०८१
सुनारमण्डीमा अबैध सुनचाँदी धन्दाः ३४ तोला सुन र साढे १० किलो चाँदीसहित ४ पक्राउ

नेपालगन्ज ११ भदौ : बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदीसहित चार जनालाई नियन्त्रणमा लिएकोछ । उनीहरुलाई नेपालगन्जमा रहेको एउटा पसलबाट नियन्त्रणमा लिइएको हो ।

सोमबार दिउँसो विषेश सुराकीको आधारमा बाँके प्रहरीले बिल भरपाइ नभएको ३४ तोला सुन र साढे १० केजी चाँदी, एउटा गाडीसहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

उनकाअनुसार बरामद भएको सुनचाँदी (कालिगढ)पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।

बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेकाहरूले सुनारमण्डीबाट ३४ तोला सुन र चाँदी ल्याएको प्रारम्भिक बयान दिएको डिएसपी डाँगीले बताए ।

ती व्यापारीले नेपालगन्जको सुनारमण्डीबाट सामान किनेको बताएको र  बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रहरीले उक्त कालिगढको पसलमा रहेको थप सुन चाँदी समेत बरामद गरेकोछ । ती कालिगढले अबैधरुपमा सुन चाँदी जम्मा गरेर विक्रि वितरण गर्दै आएको बताइएकोछ । यो घटना बाहिरिएसंगै नेपालगन्जबाट ब्यापारी र कालिगढको मिलोमतोमा अबैध सुनचाँदीको धन्दा हुनेगरेको पुष्टि भएकोछ ।

प्रहरीले नियन्त्रणमा लिएको गाडी र पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन । अनुसन्धान भइरहेको बताउँदै प्रहरीले पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जनाएकोछ ।