बाँकेको गाभरमा कोदोको परीक्षण


सेतोखरी सेतोखरी   मंगलबार, भदौ ११, २०८१
बाँकेको गाभरमा कोदोको परीक्षण

नेपालगन्ज ११ भदौ : कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रुपमा लिइन्छ । यसलाई गरिबको खाना पनि भनिन्छ । यसको खेती कम मलिलो तथा सुख्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।

कोदोबाट ढिंडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो । भाते बानीको संस्कृतिमा हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीको भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ । तर, पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । 

बाँके बैजनाथ गाउँपालिका वडा नम्बर–१ गाभरस्थित सामुदायिक जिन बैंकमा कोदोको परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाका अनुसार स्थानीयको साझेदारीमा कोदोको परीक्षण सुरु भएको हो । 

रैथाने बालीको संरक्षण, सुख्खा ठाउँमा समेत कोदो जस्तो महत्वपूर्ण रैथाने बाली लगाउन मिल्ने गरी कोदोको बीउको परीक्षण गरिएको हो । परीक्षण गरिएका नौमध्ये पाँच वटा जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेको र अन्य दुईवटा किसानका जात छन् ।

Kanti Aarogya Hospital Nepalgunj

प्राविधिक थापाका अनुसार अहिले लगाएको कोदोको प्रतिफल मङ्सिरसम्म आउनेछ । प्रतिफल सकारात्मक नै हुने आशा गरिएको बताउँदै उनले त्यसपछि व्यावसायिक खेतीको कामलाई प्रोत्साहन गरिने जानकारी दिए । परीक्षण सफल भएको खण्डमा सुख्खा ठाउँमा समेत कोदोखेती गरेर आयआर्जन गर्न सकिने थापाको भनाइ छ ।

२०७८ सालमा गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको थियो । त्यहाँ कोदोको उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताए । उनका अनुसार हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने एउटा कोदोको जात विकास गरेको छ। 

गाभरमा सुरु गरिएको कोदो परीक्षणले जिल्लाका किसानलाई समेत उत्साहित बनाएको छ । सामुदायिक जिन बैंक स्थापनासँगै समुदायस्तरमा त्यसको सञ्जाल विस्तार गरेर विभिन्न ठाउँमा कृषि जैविक विविधता संरक्षण गरिएको सञ्जालका अध्यक्ष पुरमल बस्नेतले जानकारी दिए । उनले सो कार्यमा स्थानीय किसानले पनि सहयोग गरिरहेको बताए । 

कोदोको महत्व

पोषणतत्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ ।

मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । केटाकेटी, बुढाबुढी र सबैका लागि कोदोको रोटी र ढिंडो सजिलै पच्ने भएकाले यो स्वास्थ्यवद्र्धक पनि छ ।

धार्मिक हिसाबले हेर्ने हो भने नेवार, गुरुङ, तामाङलगायतका जनजातिको पूजाआजा चाडपर्वमा यसको प्रयोग अनिवार्य छ । स्थानीय रूपमा तयार गरिएका शुद्ध जाँड तथा रक्सी धेरै नेपाली तथा विदेशीले मीठो मानेर पिउने गर्छन् ।

तारे होटलदेखि राजमार्गका रेष्टुराँ तथा रिसोर्ट र हिमाली क्षेत्रका होमस्टेमा दरिलो स्वागतको रुपमा कोदोको विभिन्न परिकार प्रयोग हुन थालेको छ । यसबाट बियर पनि तयार हुन्छ । कोदोको नल पशुको लागि राम्रो घाँस पनि हो । यो हरियो तथा सुकाएर दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ ।

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खोजीखोजी खान थालेका छन् । नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो ।

यसलाई ‘कु’अन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ । नेपालीको खाने चलनमा मुख्य भात नै भएको र यसैमा अत्याधिक निर्भर रहने भएकाले नसर्ने रोगको वृद्धिमा समेत यसले सघाइरहेको छ ।

अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुईटा कोदोको रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ ।

यसमा प्रशस्त मात्रामा आइरन, नियासिन, ट्यानिन, क्याल्सियमलगायत फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ । मानिसलाई ज्ञात भएसम्म सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्व दिएको छैन ।

कोदोमा उच्च मात्रामा पाइने रेसाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ । यसले एलडीएल कोलेस्ट्रोललाई कम गर्नुका साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ । यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र ट्यानिनले मधुमेहको खतरालाई कम गर्छ । जसले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासी वृद्घिलाई मन्द पार्छ ।

पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत तथा अत्यधिक ग्यासलाई दूर गर्छ ।

यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ । कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ ।

हालै गरिएको अध्ययनले कोदोमा हुने रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछ । यो मधुमेहका बिरामीका लागि उपयुक्त अन्नबाली हो ।

कोदो खाँदाका फाइदा

– मुटु रोग लाग्न दिंदैन
– हाड बलियो बनाउँछ
– बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ
– नराम्रो कोलेस्ट्रोल घटाउँछ
– शरीरको विषाक्तता बाहिर निकाल्छ
– पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ
– रगतको कमी हुन दिंदैन
– कब्जियत हुन पाउँदैन
– मधुमेहबाट जोगाउँछ
– स्तन क्यान्सर हुन दिंदैन
– शारीरिक तौल नियन्त्रणमा राख्छ
– रक्तचाप घटाउन प्रभावकारी हुन्छ
– मृगौला र कलेजोको रोग लाग्न दिंदैन
– रोगप्रतिरोधी क्षमता बढाउँछ
– ऊर्जाको राम्रो स्रोत हो
– पित्तथैलीमा पत्थरी हुन दिंदैन
– मीठो निद्रामा सघाउँछ
– छाला चम्किलो बनाइराख्छ
– घाउ छिटो भरिन सघाउँछ
– आमाको दूध बढाउँछ
– कुपोषण हुन दिँदैन

नेपालमा कोदो खेती

नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ५१६ वर्ग किलोमिटरमध्ये हिमाली क्षेत्र ५१ हजार १८७ वर्ग किमी (३५ प्रतिशत), पहाडी क्षेत्र ६१ हजार ३४५ वर्ग किमी (४२ प्रतिशत) र तराई क्षेत्र ३४ हजार १९ वर्ग किमी (२३ प्रतिशत) छ । भू–उपयोगको दृष्टिकोणले जम्मा खेती गरिएको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर (२१ प्रतिशत) र खेती नगरिएको खेतीयोग्य जमिन १० लाख ३० हजार (७ प्रतिशत) हेक्टर रहेको छ ।

कोदो खेती गर्दा धेरैजसो स्थानीय जातहरुको प्रयोग हुने भएकाले उन्नत जातको तुलनामा उत्पादकत्व कम छ । नेपालको कुल जनसंख्यामध्ये झण्डै आधा जनसंख्या पहाड तथा उच्च पहाडमा बस्छन् । तिनीहरूको मुख्य खाना पनि कोदो हो । कोदो प्रायः परम्परागत शैलीमा खेती गरिने, उन्नत जात र उन्नत प्रविधिको प्रचारप्रसार कम हुँदा सोचेजस्तो उत्पादन गर्न नसकिरहेको अवस्था छ ।

कोदोको सम्भावना

कोदो सुख्खा सहन सक्ने बाली हो । नेपालमा वर्षाको पानीको भरमा यसको खेती गरिन्छ । यसको खेती समुन्द्रबाट ५ सयदेखि २४ सय मिटर उचाइसम्म गर्न सकिन्छ । नेपालमा पहाडी क्षेत्र, फाँट तथा टारहरु धेरै छन् । यी क्षेत्र कोदो खेतीका लागि उपयुक्त क्षेत्र हुन् ।

कोदोका विकसित जातहरू जस्तै ओख्ले कोदो १, डल्ले कोदो १, काब्रे कोदो १, काब्रे कोदो २ लगाएर बढी उत्पादन लिन सकिन्छ । धान, मकैजस्ता बालीहरू सिँचाई नभएको क्षेत्रमा राम्रोसँग उत्पादन हुन नसक्ने भएकाले त्यस्ता क्षेत्रमा कोदो खेती सजिलैसँग गर्न सकिन्छ । कम लागतमा उत्पादन हुन सक्ने र खाद्य सुरक्षाको दृष्टिकोणले विपन्न कृषकको लागि यो उपयुक्त महत्वपूर्ण बाली हो ।

राज्यको दायित्व जनतालाई स्थानीय तहमा खाद्यान्न उत्पादन वृद्धि गरेर आपूर्ति गर्ने वा बाहिरबाट खाद्यान्न ढुवानी गरी आपूर्ति गर्ने हुन्छ । त्यसैले दिगो उपायका लागि पहाडी क्षेत्रमा स्थानीय तहमा उत्पादन हुन सक्ने कोदो, मकै, जौ, फापर आदिको उपयुक्त अनुसन्धान र विकास नै गर्नुपर्छ ।

यसमा रहेका खाद्यतत्व र फाइदाजनक पक्षको बारेमा जनचेतना अभिवृद्धि, प्रचारप्रसार गर्ने र खानेबानी लगाएर नयाँ पुस्तालाई कोदोको परिकारतर्फ आकर्षित गर्न सकिन्छ । यसो भए स्थानीय बालीको सदुपयोग र खाद्य सुरक्षा कायम हुन्छ ।