अमेरिकामा रहेकी मुनालाई उनकै अपार्टमेन्टभित्रै पसेर गोली हानिएको थियो


सेतोखरी सेतोखरी   बुधबार, भदौ १२, २०८१
अमेरिकामा रहेकी मुनालाई उनकै अपार्टमेन्टभित्रै पसेर गोली हानिएको थियो

ह्युस्टन (टेक्सस) १२ भदौ : सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् । त्यसले गर्दा मुनाका हत्यारा पत्ता लगाउन सघाउ पुग्ने विश्वास समुदायले गरेको छ । उनी केही समय अमेरिकी युवकसँग डेटिङ्गमा रहेको र कोठाभित्र भेटिएका पुरूषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुष समेत बस्ने शंका गरिएको छ ।

मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले जानकारी दिएअनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ। 

हत्याराले ओछ्यानमै गोली हानेको भिडियो हेर्दा सहजै अनुमान गर्न सकिने अमेरिकाबाट प्रकाशित हिमालय खबरले जनाएको छ । ओछ्यान भरि कट्कटिएको रगत र घटनास्थलमा रगतको दुर्घन्ध आएकोले घटना शनिवारतिरै भएको हुनुपर्ने आशंका सो भिडियो क्लिप लिएका स्थानीय नेपालीले बताएका छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनले बताए अनुसार मुनालाई तीनवटा गोली हानिएको थियो। ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ।

सन् २०२१ मा अध्ययनका लागि अमेरिका पसेकी मुनाले सन् २०२२ को जनवरी देखि हिलक्रफ्टस्थित काठमाण्डुकरी रेष्टुराँमा करिब एक वर्ष काम गरेकी थिइन् । त्यतिखेरका सहकर्मी र रेष्टुरेन्टका ग्राहकहरूले मुना निकै मृदुभाषी र असल व्यक्ति भएको प्रतिकृया दिएका छन् ।

२१ वर्षीया मुनाको नेपालमा आमामात्र छन् । मुनाको घर भोजपुर भएको बताइएको छ । काठमाण्डुकरीका सञ्चालक रामकृष्ण सापकोटाले भने ‘कामप्रति अति इमान्दार र ग्राहक सेवामा निकै अब्बल रहकी मुनाले काठमाण्डुकरी छोडेपछि पनि धेरैसम्म ग्राहकहरुले मुनालाई खोजिरहेका हुन्थे । ग्राहक सेवाका लागि मात्र होइन, किचन र ‘बार’मा समेत उत्तिकै सहयोग गर्नसक्ने र जुनसुकै काम तुरुन्तै सिक्नसक्ने क्षमता भएकी थिइन् ।’

अपराध अनुसन्धानमा संलग्न अधिकारीहरुले लगेको सर्भिलेन्स भिडियोको सूचना र अटस्पी (पोष्टमार्टम) रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने अनुमान गरिएको छ ।

सोमबार साँझ घटनास्थलमा पुगेका र अनुसन्धान प्रक्रियामा अधिकारीहरुसँग सम्पर्कमा रहेका स्थानीय नेपाली संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डा. विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ ।

डा. नेपालका अनुसार सबै प्रक्रिया सकिएर अस्पतालले शव हस्तान्तरण गर्न अझै केही दिन पर्खनु पर्ने हुनसक्छ । दिवंगत मुनाकी नेपालमा रहेकी आमाले समेत छोरीको अन्तिम संस्कारमा भए पनि घटना भएको ह्युस्टन आउन चाहेको भएको सूचना आएकाले एनएएचकै सक्रियतामा ‘इन्सिडेण्ट’ रिपोर्ट पनि पठाइसकिएको डा. नेपालले बताए ।

परिवार र उनका स्थानीय सम्पर्कमा रहेका साथीहरुसँगको समन्वयमा आवश्यक आर्थिक संकलन गर्ने तर्फ समेत एनएएचले छलफल गरिरहेको छ । घटनास्थलमा उपलब्ध प्रमाणहरु, मुनाले सामाजिक सञ्जालमा र आमासँग सेयर गरेका तस्बिर, भिडियो लगायतका सूचनाका आधारमा प्रहरीले हत्यारा पत्ता लगाउने ह्युस्टनका नेपाली समुदायले विश्वास गरेको समाचारमा जनाइएको छ । -हिमालयखबरबाट