नेपालगन्ज १२ भदौ : संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका पहिलो भएको छ ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेकाछन् । आठ वटै पालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिका पहिलो बनेको हो । भने नेपालगन्ज उपमहानगरपालिका अन्तिममा परेकोछ ।
आर्थिक वर्ष २०७९-८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजामा जिल्लाका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिका ८५ अङ्कका साथ प्रथम भएको हो ।
८१ अङ्कका साथ कोहलपुर नगरपालिका दोस्रो र ७७.५० अङ्कका साथ तेस्रो स्थानमा खजुरा गाउँपालिका रहेको छ ।
यस्तै चौथो स्थानमा रहँदै जानकी गाउँपालिकाले ७६.५० अङ्क प्राप्त गरेको छ भने पाँचौँ स्थानमा बैजनाथ गाउँपालिकाले ७३.२५ अङ्क हासिल गरेको छ ।
यसैगरी छैठौं स्थानमा राप्तीसोनारी गाउँपालिका ७०.५०, सातौं स्थानमा नरैनापुर गाउँपालिका ६७.२५ रहँदा ६४.७५ अङ्क प्राप्त गर्दै सबैभन्दा पछाडि नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।
गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याएको छ।
स्वमूल्याङ्कनको प्रणालीमा नेपालगन्ज फेल जस्तै भएपछि यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको कार्य प्रक्रिया र उपलब्धीको लेखाजोखा प्रष्ट हुन्छ ।