नेपालगन्ज १२ भदौ : सङ्घीय सरकारको लगानीमा बन्न लागेको परसपुर–गौघाट सडकखण्डको कालोपत्रे निर्धारित समयमा नबन्दा सर्वसाधरणले कष्ट भोग्नु परेकोछ ।
नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । सडक निर्माणको २९ महिना सकिनै लाग्दा २० प्रतिशतमात्रै कार्यसम्पादन भएको हो । उक्त सम्झौता आगामी भदौ २५ गते सकिदैछ ।
करिब १४ करोडमा कन्काई–गणपति जेभीले सडक निर्माणको ठेक्का पाए पनि निर्माण कार्यमा भने सुरुआतदेखि नै ढिलाइ हुँदै आएको थियो । ठेकेदारको लापरबाहीका कारण परसपुर–गौघाट सडकको कालोपत्रे नहुँदा सो क्षेत्रका स्थानीयले दुःख पाइरहेका छन् ।
बाँकेको पश्चिम क्षेत्रमा पर्ने उक्त सडक खण्डले सीमावर्ती क्षेत्रका बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने काम गर्छ । नेपालगन्ज उप–महानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने सडक हो परसपुर–गौघाट सडक खण्ड ।
सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ ।
यसअघि गत माघ महिनामा सम्झौता अनुसार सन्तोष जनक काम नगरेको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन भित्र कार्य सम्पादन सन्तोष जनक नभएको बारेमा लिखित प्रतिवेदन सहित कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।
कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारी भदौ २५ गतेसम्म निर्माण कार्य सम्पन्न हुन नसक्ने प्रतिक्रिया दिएका छन् । उनले अहिले वर्षातको समय भएकोले पिच गर्न नसकिने भन्दै केही समय माग गर्ने तयारी भएको बताए ।
उनका अनुसार सम्झौता अनुसार भदौ २५ गतेसम्म काम सम्पन्न गर्न कठिन छ । करिब ८ महिना अझै समय लाग्ने भएकाले सरकारसँग समय माग गरिनेछ ।
परसपुर–गौघाट सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै यसअघि स्थानीयले आन्दोलन समेत गरेका थिए । २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर, हाल सम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन । जसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ ।
यता सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ ।
सडकको केही भागमा नालाको काम र माटो पटानमात्रै भएकोछ । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको इन्जिनियर सुवेदीले बताए ।
ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण समयमै योजना सम्पन्न नहुने उनी बताउँछन् । उनले भने,‘हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानूनी रूपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडी बढाएका छौँ । तर, प्रगति भने निराशाजनक छ ।’