अमेरिकामा नेपाली छात्रा मुनालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ


सेतोखरी सेतोखरी   बिहीबार, भदौ १३, २०८१
अमेरिकामा नेपाली छात्रा मुनालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ

नेपालगन्ज १३ भदौ : अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् ।

अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको हो ।

बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । ह्युस्टन प्रहरी विभागले पाण्डे बस्ने गरेको अपार्टमेन्टबाट बाहिरिँदै गरेका एक संदिग्ध व्यक्तिको तस्बिर सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस् अमेरिकामा रहेकी मुनालाई उनकै अपार्टमेन्टभित्रै पसेर गोली हानिएको थियो

Care City
Kanti Aarogya Hospital Nepalgunj

गत सोमबार साँझ पाण्डे ह्युस्टनको वेस्ट एयरपोर्ट बुलेभार्डस्थित आफ्नै अपार्टमेन्टमा गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन् । नेपलिज एसोसिएसन अफ ह्युस्टनका द्रोण गौतमका अनुसार पाण्डेलाई तीनवटा गोली लागेको थियो र उनी ओछ्यानमा टाउको तल पारेर पल्टिरहेको अवस्थामा भेटिएकी थिइन् । 

पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन । स्थानीय समय अनुसार शनिबार राति ९ः४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।

स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् । सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् ।

पाण्डेको अन्तिम संस्कारका लागि नेपालबाट उनकी आमा अनिता पाण्डे अधिकारी अमेरिका जान चाहेकी छन् । तर, उनले आर्थिक समस्या भएको बताएकी छन् । 

यसैबीच मुनाको अन्तिम संस्कार तथा उनकी आमालाई अमेरिका यात्राका लागि खर्च जुटाउन गोफन्डमी अभियान सुरु गरिएको छ ।  ५० हजार डलर संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गोफन्डमी अभियानले सहयोगका लागि सबैसँग अपील गरेको छ । मुनाकी आमा अनितालाई छोरीको अन्तिम संस्कारका लागि अमेरिका ल्याउन समेत आर्थिक सहयोग गर्नुपर्ने देखिएको अभियानले जनाएको छ । 

मुना आफ्नी एक मात्र सन्तान भएको र उनी पनि बितेपछि आफ्नो संसारै सकिएको दुखेसो अनिताले गरेकी छन् । छोरीको न्यायका लागि हत्यारा जसरी पनि पत्ता लगाउन उनले सम्बन्धित सबैसँग आग्रह पनि गरेकी छन् ।