बसको पट्टा भाँचिदा दुर्घटना भयो, चालक प्रहरी नियन्त्रणमा
नेपालगन्ज १३ भदौः बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा भएको यात्रुबाहक बस दुर्घटनामा गम्भीर घाईते थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार दाङ, घोराहीका ३० वर्षिय बिमल राईको मृत्यु भएको हो ।
यो पनि पढ्नुहोस् नमस्ते कटेज अगाडी अनियन्त्रित भएर बस पल्टिँदा दुई जनाको मृत्यु, २७ घाइते
दुर्घटनामा गम्भीर घाइते भएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको डाँगीले बताए ।
यसअघि दुर्घटनामा गम्भीर घाइते भएका दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पताल नेपालगन्जमा उपमचारका क्रममा मृत्यु भएको थियो । मृतक ओली बसका यात्रु र भुषाल बसका सह– चालक रहेको बुझिएको छ ।
दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो नेपालगन्ज–कोहलपुर सडकखण्डको गनापुरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेका घाइते २६ जनाले नेपालगन्ज र कोहलपुरमा उपचार गराइरहेका छन् । प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकी ४ जनाको उपचार भइरहेको छ । घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा हाल उनी डिस्चार्ज भईसकेका छन् ।
दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको चालकले प्रारम्भीक रूपमा बयान दिएका छन् ।’ बसको पट्टा भाँचिदा दुर्घटना भएको कुरा चालकको बयान छ,’ डाँगीले भने । बस दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकोछ ।