डकैती गर्न पुगेका बबिसिंहले मुनालाई गोली हानेका थिए, आजीवन काराबासदेखि मृत्युदण्डसम्म हुनसक्ने


सेतोखरी सेतोखरी   शुक्रबार, भदौ १४, २०८१
डकैती गर्न पुगेका बबिसिंहले मुनालाई गोली हानेका थिए, आजीवन काराबासदेखि मृत्युदण्डसम्म हुनसक्ने

नेपालगन्ज १४ भदौ : अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका ५१ वर्षीय बबिसिंह साहविरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ । 

बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या (क्यापिटल मर्डर) र गैरकानूनी हातहतियार विरूद्धको मुद्दा दर्ता गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

यो पनि पढ्नुहोस् अमेरिकामा नेपाली छात्रा मुनालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ

बबि बुधबार स्थानीय समयअनुसार राति ९ बजे पक्राउ परेका थिए । त्यसअघि प्रहरीले सिसीटिभी फुटेजबाट प्राप्त भएको अभियुक्तको तस्बिर सार्वजनिक गरेको थियो । लगत्तै बबी बन्दुकसहित पक्राउ परेका थिए । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनलाई हत्या मुद्दामा ३ अक्टोबर र गैरकानूनी रूपमा हतियार बोकेर हिँडेको मुद्दामा अक्टोबर ५ मा अदालतमा उपस्थित गराइने बताइएको छ । सरकारी वकिल कार्यालयको स्टेटमेन्टमा  डकैती गर्ने क्रममा अभियुक्तले मुना पाण्डेमाथि गोली चलाएको भनिएको छ ।

ह्युस्टनका विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले पनि प्रहरीलाई उद्धृत गर्दै बबिसिंह डकैती गर्न मुनाको अपार्टमेन्टमा पुगेको लेखेका छन् । अभियुक्त शनिबार राति ८ः४० बजे मुना बस्ने अपार्टमेन्टमा पुगेका थिए ।

पेस्तोलसहित पुगेका उनले केहीबेर ढोका ढक्ढकाए । ढोका खोलेर बाहिर निस्केकी मुनाले सोधखोज गर्न नपाउँदै ती अभियुक्तले कोठा भित्रतर्फ धकेलेको र आफूपनि प्रवेश गरी भित्रबाटै चुकुल लगाएको प्रहरीलाई उद्धृत गर्दै क्लिकटुह्युस्टनले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् अमेरिकामा रहेकी मुनालाई उनकै अपार्टमेन्टभित्रै पसेर गोली हानिएको थियो

सिसीटिभी फुटेजअनुसार त्यतिबेला मुनाको हातमा सपिङ ब्याग, पर्स लगायत केही सामग्रीहरू देखिएको थियो । त्यसको एक घण्टापछि अभियुक्त घरबाहिर निस्किएका थिए । त्यही रात छिमेकीहरूले केही पड्केको असामान्य आवाज सुनेको पनि प्रहरीलाई बताएका छन् ।

मुना सोमबार साँझ पौने ६ बजे मृत भेटिएकी थिइन् । उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार मुनाको टाउको पछाडिको भागमा पनि एउटा गोली प्रहार भएको छ । 

पक्राउ परेका बबिलाई बिहीबार प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई जमानतमा छाड्न अस्वीकार गरिसकेको छ । 

नियतवश घातक हतियाले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । पक्राउ परेका आरोपी बबीसिंहको बयानको आधारमा यस्तो खुलासा भएको नेपयोर्कले उल्लेख गरेको छ ।

२६२ औं राज्य जिल्ला अदालतमा सिन्हलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक पटक जेल परेको खुलेको छ । अदालतको अर्को सुनुवाइ अगाडि सेप्टेम्बर ५ अर्थात् भदौ २० मा हुने भएको छ ।

उनीविरूद्ध दर्ता भएको अभियोगमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ ।  २१ वर्षीया मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ पढ्दै थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

muna_murder_police_case_america-1725000422.jpg