बाँकेमै *निजि स्तरमा सुरु हुने भयो बिए एलएलबीको पढाई


सेतोखरी सेतोखरी   शुक्रबार, भदौ १४, २०८१
बाँकेमै *निजि स्तरमा सुरु हुने भयो बिए एलएलबीको पढाई

नेपालगन्ज १४ भदौ : बाँकेमा निजि स्तरमा पहिलो पटक बिए एलएलबी (पाँच वर्षे) कोर्षको अध्यापन सुरु हुने भएको छ । 

यसै शैक्षिक शत्रदेखि नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले पाँच वर्षे बिए एलएलबी कोर्षको सुरुआत गर्न लागेको हो । प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले पाँच वर्षे बिए एलएलबीमा भर्ना हुन पाउनेछन् ।

राजर्षी जनक विश्वविद्यालय जनकपुरधाम, धनुषाबाट अध्यापन अनुमति लिएर नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले बाँकेमा बिए एलएलबीको पढाई सुरु गर्न लागेको हो । राजर्षी जनक विश्वविद्यालय कार्यकारी परिषदको गत भदौ १२ गते बसेको बैठकले नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसलाई अध्यापनका लागि अनुमति दिएको हो । 

बाँकेमा स्वास्थ्य क्षेत्रको लोकप्रिय संस्थाको रुपमा परिचित नेपालगन्ज हेल्थ क्याम्पसका सञ्चालक मैकुलाल वाल्मिकीको नेतृत्वमा बिए एलएलबी कोर्षको सुरुआत हुन लागेको हो । 
नेपालगन्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसका अध्यक्ष एवम् सञ्चालक वाल्मिकीले बाँकेमा कानून विषय पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर बिए एलएलबी कोर्षको सुरुआत गरिएको बताए । 

Kanti Aarogya Hospital Nepalgunj

उनले भने, ‘बाँकेमा कानून विषय पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ । यहाँ सुविधा नहुँदा काठमाडौं, भारतको नयाँ दिल्ली, लखनउ गएर पढनु पर्ने बाध्यता रहेको थियो । यसले गर्दा विद्यार्थीहरुलाई आर्थिक रुपमा पनि भार पर्ने गरेको थियो । अब त्यो समस्या रहने छैन ।’

व्यवस्थापनलाई बलियो बनाउँदैं दक्ष जनशक्तिबाट अध्यापन गराउने तयारी गरिरहेको वाल्मिकीले बताए । उनले भने,‘कानून पढेका विद्यार्थीको यहाँ धेरै राम्रो सम्भावना छ । गाउँघरमा न्याय प्राप्तीका लागि धेरै जनताले दुःख पाइरहेका हुन्छन् । बिए एलएलबी स्तरका विद्यार्थी यही उत्पादन भएपछि स्थानीय जनतालाई सहयोग हुन्छ । यसले गर्दा कानूनी सेवाबाट कोहि पनि बञ्चित हुनु पर्दैन् ।’ *भुलबस शिर्षक फरक भएपछि अध्यावधि गरिएको ।