नेपालमा दुई खर्ब ९५ अर्ब प्रत्यक्ष वैदेशिक लगानी


सेतोखरी सेतोखरी   शनिबार, भदौ १५, २०८१
नेपालमा दुई खर्ब ९५ अर्ब प्रत्यक्ष वैदेशिक लगानी

नेपालगन्ज १५ भदौ : नेपालमा आर्थिक वर्ष २०७९-०८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी दुई खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको छ । आर्थिक वर्ष २०७८-०७९ को तुलनामा मौज्दात ११.८ प्रतिशतले वृद्धि भएको हो ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिती ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । गएको वर्ष २०८० असार मसान्तसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये, भारतबाट सबैभन्दा बढी एक खर्ब तीन अर्ब ४५ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यो कुल वैदेशिक लगानीको ३५ प्रतिशत हो । त्यसपछि चीनबाट ३५ अर्ब ४६ करोड, आयरल्याण्डबाट २२ अर्ब ६२ करोड, अष्ट्रेलियाबाट १९ अर्ब ६ करोड र सिंगापुरबाट १८ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेस प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७९-८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९-८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको पाइएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।