पूर्व प्रधानमन्त्री प्रचण्ड नेपालगन्जमा


सेतोखरी सेतोखरी   शनिबार, भदौ १५, २०८१
पूर्व प्रधानमन्त्री प्रचण्ड नेपालगन्जमा

नेपालगन्ज १५ भदौ : पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेपालगन्ज आईपुगेका छन् । शनिवार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय परामर्श समितिको बैठक सकेर प्रचण्ड नेपालगन्ज आईपुगेका हुन् । 

आइतबारदेखी नेपालगन्जमा २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठक सुरु हुँदैछ । सो बैठकमा  भाग लिन अध्यक्ष प्रचण्ड सहितका माओवादी केन्द्रका पदाधिकार सहितका केन्द्रीय नेताहरू नेपालगन्ज आई पुगेका हुन् । 

अध्यक्ष प्रचण्ड सहितको टोलीमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल, सचिव चक्रपाणी खनाल  लगायतका नेताहरू नेपालगन्ज आईपुगेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले जानकारी दिए । 

प्रदेश परामर्श समितिको बैठकमा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने एक सय १० केन्द्रिय सदस्य र लुम्बिनी प्रदेश समितिका ११ जना पदाधिकारीको सहभागिता रहने प्रदेश अध्यक्ष बरालले जानकारी दिए । परामर्श समितिको बैठकमा केन्द्रिय सदस्य र पदाधिकारीले अध्यक्ष प्रचण्ड र पार्टीलाई आगामी कार्यनीतिबारे सुझाव दिने बताईएको छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

केन्द्रिय समिति सदस्य र प्रदेश पदाधिकारी सहितका नेताहरूसँग आगामी केन्द्रिय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेजका लागी अध्यक्ष लगायतका पदाधिकारीले आवश्यक परामर्श गर्ने कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले प्रदेश स्तरमा परामर्श बैठक सुरु गरेको हो । 

प्रदेश परामर्श समितिको बैठकअघि माओवादी केन्द्र बाँकेका अगुवा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । वडा पदाधिकारी माथिका कार्यकर्ता, जनवर्गीय सङ्गठनका जिल्ला तहका नेता कार्यकर्तालाई प्रशिक्षण दिने जिल्ला अध्यक्ष नरेन्द्र पाण्डेले बताए । 

माओवादीले हालसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी छ वटा प्रदेशको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष दाहालले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन् । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रिय कमिटी बैठक बस्नेछ । केन्द्रिय कमिटीले ठोस निर्णय गरेर नियमित कार्य क्रमिक रुपमा जनतामा जाने माओवादीको तयारी छ ।

नेतालाई जनताको घर–घरमा राखिने 

परामर्श समितिको बैठकमा आउने नेताहरूलाई जनताको घर–घरमा राखिने तयारी माओवादी बाँकेको छ । सुरक्षा लगायतका कारणले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई राष्ट्र बैंकको गेस्ट हाउसमा राखिने र अन्य सबै नेताहरूलाई नेता कार्यकर्ता र जनताका घर–घरमा राखिने माओवादी बाँके अध्यक्ष नरेन्द्र पाण्डे ‘जेम्स’ले बताए । 

बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका अन्य सबै नेताहरू कार्यकर्ता र जनताको घरमा २ रात बिताउने पाण्डेले बताए । उनका अनुसार सो क्रममा नेताहरूले आफू बसेको घर र स्थानीय जनतासँग माओवादीपार्टी बारेका गुनासा सुन्ने र अन्तरक्रिया गर्ने पाण्डेले बताए । 

प्रचण्डको २ दिने तालिका यस्तो छ 

आईतबार बिहान ८ः ०० बजे प्रेस सेन्टरको अयोजनतामा पत्रकार भेटघाट रोयल पार्टी प्यालेस
आईतबार बिहान ९ः०० देखि ११ सम्म बाँके जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षण रोयल पार्टी प्यालेस 
आईतबार अपराहन्न १२ बजेदेखि ५ बजेसम्म प्रदेश समन्यव परिषद बैठक 
प्रदेश शुसासन केन्द्रको सभाहल महेन्द्रनगर नेपालगञ्ज 
सोमवार बिहान ८ बजेदेखी ५ बजेसम्म प्रदेश समन्वय परिषदको बैठक 
प्रदेश शुसासन केन्द्रको सभाहल महेन्द्रनगर नेपालगञ्ज