यो सरकार अबैध छ, सडकबाट प्रतिकार गर्छौं : प्रचण्ड

‘मेरा लागि अध्यक्ष पद ठूलो कुरा होइन । अध्यक्षभन्दा म माथि भइसके’


विजय मल्ल विजय मल्ल   आइतबार, भदौ १६, २०८१
यो सरकार अबैध छ, सडकबाट प्रतिकार गर्छौं : प्रचण्ड

नेपालगन्ज १६ भदौ : वर्तमान सरकार अबैध भएको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताएकाछन् । वर्तमान सरकारको बैधताप्रति कडा टिप्पणी गर्दै उनले भने –‘यो सरकार अबैध छ । हामी सडकबाट प्रतिकार गर्छौं । त्यो प्रतिकार शान्तिपूर्ण हुनेछ ।’

प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले सरकार गठन प्रक्रिया समेत बैध नभएको बताए । उनले सरकार कसले गठन गरेको हो भन्ने कुरा देखिसकेकोले यो सरकारको बैधता नभएको बताए ।

आईतबारदेखी नेपालगन्जमा हुने २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठकमा सहभागि हुन शनिबार नेपालगन्ज आइपुगेका प्रचण्डले पार्टी बलियो बनाउन जनताकामाझ आएको बताए ।

यो पनि पढ्नुहोस् पूर्व प्रधानमन्त्री प्रचण्ड नेपालगन्जमा

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनले आफू नेतृत्वमा रहँदा संकटमा परेको देशको अर्थतन्त्रलाई माथि उकास्ने काम गरेको र भ्रष्टचारलाई नियन्त्रण गरेको दावि गर्दै भ्र्रष्टलाई बचाउन यो सरकार बनेको प्रतिक्रिया दिए । बेथिति र भ्रष्टाचारलाई बचाउने कोसिस नगर्न उनले सरकारलाई सुझाव दिए । 

उनले पार्टीको नेतृत्व आफू बसिरहन नखोजेको स्पष्ट पार्दै भने –‘यस विषयमा पार्टीभित्र बहस र छलफल भइरहको छ । प्रचण्डलाई नै नेतृत्वमा देख्न चाहेका छन् । अब यहाँहरुले नयाँ नेतृत्व पाउनुहुनेछ ।’

‘आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन । मेरा लागि अध्यक्ष पद ठूलो कुरा होइन । अध्यक्षभन्दा म माथि भइसके । टोली बन्यो भने मैले नयाँ भूमिकामा जाने सोँच बनाएको छु’, अध्यक्ष प्रचण्डले भने ।

शनिवार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय परामर्श समितिको बैठक सकेर प्रचण्ड शनिबार नेपालगन्ज आईपुगेका हुन् । नेपालगन्ज आइपुगेका प्रचण्डले आईतबार विहान नेपालगन्ज रंगशाला अवलोकनपछि उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताएका थिए ।

प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताएका थिए । 

आईतबारदेखी नेपालगन्जमा हुने २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठकमा भाग लिन अध्यक्ष प्रचण्ड सहितका माओवादी केन्द्रका पदाधिकार सहितका केन्द्रिय नेताहरू नेपालगन्ज आएकाछन् । 

अध्यक्ष प्रचण्ड सहितको टोलीमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल, सचिव चक्रपाणी खनाल  लगायतका नेताहरू नेपालगन्ज आईपुगेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले जानकारी दिए । 

प्रदेश परामर्श समितिको बैठकमा लुम्बिनीबाट प्रतिनिधित्व गर्ने एक सय १० केन्द्रिय सदस्य र लुम्बिनी प्रदेश समितिका ११ जना पदाधिकारीको सहभागिता रहने प्रदेश अध्यक्ष बरालले जानकारी दिए ।

परामर्श समितिको बैठकमा केन्द्रिय सदस्य र पदाधिकारीले अध्यक्ष प्रचण्ड र पार्टीलाई आगामी कार्यनीतिबारे सुझाव दिने बताईएको छ । 

केन्द्रिय समिति सदस्य र प्रदेश पदाधिकारी सहितका नेताहरूसँग आगामी केन्द्रिय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेजका लागी अध्यक्ष लगायतका पदाधिकारीले आवश्यक परामर्श गर्ने कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले प्रदेश स्तरमा परामर्श बैठक सुरु गरेको हो । 

प्रदेश परामर्श समितिको बैठकअघि माओवादी केन्द्र बाँकेका अगुवा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । वडा पदाधिकारी माथिका कार्यकर्ता, जनवर्गीय सङ्गठनका जिल्ला तहका नेता कार्यकर्तालाई प्रशिक्षण दिने जिल्ला अध्यक्ष नरेन्द्र पाण्डेले बताए । 

माओवादीले हालसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी छ वटा प्रदेशको परामर्श बैठक सम्पन्न गरिसकेको छ । 

प्रदेश परामर्श बैठकमा अध्यक्ष दाहालले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन् । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रिय कमिटी बैठक बस्नेछ । केन्द्रिय कमिटीले ठोस निर्णय गरेर नियमित कार्य क्रमिक रुपमा जनतामा जाने माओवादीको तयारी छ ।