ज्येष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य उपचार गर्दै खजुरा


सेतोखरी सेतोखरी   सोमबार, भदौ १७, २०८१
ज्येष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य उपचार गर्दै खजुरा

नेपालगन्ज १४ भदौ : खजुरा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए लगतै अध्यक्ष डम्बर बिक ‘तुफान’ले सुरु गरेको नमुना कार्यक्रम हो ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम । जुन कार्यक्रम अन्तरगत पालिकाका स्वास्थ्यकर्मीहरू घर–घरमा पुगेर ज्येष्ठ नागरिकको हेरचाह र उपचारमा सहयोग गरिरहेका छन् । 

सुरुमा आलोचना गरिएको कार्यक्रमको प्रभावकारिता बढेसँगै जिल्लादेखी प्रदेशसम्म प्रशंसा हुन थालेको छ । पालिका अध्यक्ष तुफानले सो कार्यक्रम लुम्बिनी प्रदेशमै नमुना कार्यक्रमका रुपमा हेरिएको जानकारी दिए । 

खजुरामा स्थानीय तहको निर्वाचनपछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष’ कार्यक्रम ल्याएको थियो । स्थानीय ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले ल्याइएको ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको हो ।

सो कार्यक्रम लागू भएपछि स्वास्थ्य कार्यालयसम्म स्वास्थ्य चेकजाँच गर्न जान मुस्किल भएका ज्येष्ठ नागरिकहरूका लागि स्थानीय सरकारले घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँच र औषधी समेत दिने गरेका छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

Khajura_Health_checkup-3-1725263065.jpg
ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम आफूहरूका लागी बरदान सावित भएको खजुर गाउँपालिका वडा नम्बर–४ की ७१ वर्षीय हिरा कुमारी खत्रीले बताइन् । उनले हालका खजुराका जनप्रतिनिधि ज्येष्ठ नागरिकहरूको अभिभावक बनेकोमा खुशी व्यक्त गरिन् । उनले निर्वाचनका समयमा घर–घरमा स्वास्थ्य सेवा पु¥याउने भनी गरेको बाचा पुरा गरेकोमा धन्यवाद दिइन् । 

वडा नम्बर–५ का ६९ वर्षीय मोबिना खातुनले घरमै स्वास्थ्य सेवा पाउँदा खुशी भएको बताउँदै आफ्नो स्वास्थ्य अवस्थाका बारेमा घरमै नियमित चेकजाँच गर्न स्वास्थ्यकर्मी आएपछि स्थानीय सरकारलाई धन्यवाद दिइन् । 

ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रममार्फत पालिकामा बसोवास गर्ने ज्येष्ठ नागरिकहरूको सुगर, प्रेसर तथा अन्य चेकजाँचका साथै औषधि समेत दिने गरिएको छ । 

ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७९-८० मा एक हजार ६ सय ५० ज्येष्ठ नागरिक तथा अशक्तहरूको सेवा तथा उपचार गरिएको थियो । भने आर्थिक वर्ष २०८०-८१ मा दुई हजार २ सय ४९ जना लाई सेवा दिइएको स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख दीपक ढकालले जानकारी दिए । २०८०-८१ मै पालिकाभरका २ सय ४५ जना शारीरिक अशक्तहरूलाई घरमै स्वास्थ्य सेवा दिइएको प्रमुख ढकालले बताए । 

कुनै पनि ज्येष्ठ नागरिकहरू उपचारबाट बञ्चित हुन नपरोस् र प्रत्येक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्यकर्मीलाई सेवा गर्ने गरि कार्यक्रमको सुरुवात गरिएकोमा सो कार्यक्रम लक्ष्य अनुसार सफलता प्राप्त गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ‘तुफान’ले बताए । 

नारामा मात्रै नभएर व्यवहारमै जनमैत्री स्थानीय सरकार बनाउन आफूहरूले ज्येष्ठ नागरिकलाई उनीहरूकै घर–घरमा पुगेर सेवा दिएको उनको भनाई छ । अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकका लागी यो कार्यक्रम अति उपयोगी र प्रभावकारी मानिएको खजुरा गाउँपालिका प्रवक्ता धनराम ओली बताउँछन् ।

सो कार्यक्रम अन्तरगत स्थानीय सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरमै गएर स्वास्थ्यकर्मीहरूले नियमित रुपमा मासिक एक पटक स्वास्थ्य परीक्षण गर्ने गरिएको ओलीको भनाई छ । यसका लागि खजुरा गाउँपालिकाले ४ जना स्वास्थ्यकर्मीहरूलाई छुट्टै खटाइएको र प्रत्येक स्वास्थ्यकर्मी २ वटा वडा पर्नेगरि व्यवस्था मिलाइएको प्रवक्ता ओलीको भनाई रहेको छ  ।

स्वास्थ्यकर्मीहरूले नियमित रुपमा सुगरको परीक्षण गर्ने, रक्तचापको जाँच गर्ने, कान तथा आँखाको परीक्षण गर्ने लगायत सुगर प्रेसरको औषधि पनि निःशुल्क वितरण गर्दै आइरहेको स्वास्थ्य शाखाको भनाई छ ।