नरैनापुरमा डेढ वर्षीया बालिकासहित चारजनाको मृत्यु शंकास्पद


विजय मल्ल विजय मल्ल   सोमबार, भदौ १७, २०८१
नरैनापुरमा डेढ वर्षीया बालिकासहित चारजनाको मृत्यु शंकास्पद

नेपालगन्ज १७ भदौ : बाँकेको नरैनापुरमा डेढ वर्षीया बालिकासहित चार जनाको मृत्यु घटना शंकास्पद भएको पाइएकोछ । 

उनीहरुको मृत्युलाई ‘झाडापखला’बाट मृत्यु भएको बताउदै विभिन्न सञ्चारमाध्यममा समाचार समेत आएकोछ । उक्त समाचार प्रकाशमा आएसंगै यसको आधिकारिक पुष्ठि भने अझैं भइनसकेको छ । 

‘अज्ञात रोग’को संक्रमणबाट चारजनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान लगाइएकोछ । स्वास्थ्यकर्मीले ‘झाडापखाला’बाट मृत्यु भएको हुन सक्ने आशंका गरेपनि त्यसको आधिकारिक रुपमा पुष्टी भने भएको छैन ।

जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर–३ गेगली गाउँ निवासी २५ वर्षिया रुसा पासी र उनको डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षिय यूसुफ अलिको मृत्यु भएको बताइएकोछ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

नरैनापुर गाउँपालिका स्वास्थ्यका शाखा प्रमुख नगेन्द्रकुमार साहले भारतीय सीमासँग जोडिएको उक्त गाउँमा रहेका उनीहरुको मृत्यु भएको जानकारी दिए । उनीहरु केहीदिन यता बिरामी पर्दै आएका थिए ।

‘चार जनाको फरक–फरक मितिमा मृत्यु भएको छ, झाडापखालाको शंका गरेपनि पुष्टी भएको छैन,’ उनले भने । केही बिरामीलाई भेरी अस्पतालमा पठाएर उपचार चलिरहेको साहले जानकारी दिए । झाडापखाला फैलिएको भन्ने जानकारी आउनसाथ स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार गरेको उनले बताए ।

यसैबीच, चार जनाको मृत्यु भएपछि बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँके, खानेपानी र चिकित्सकसहितको टोली औषधीसहित त्यहाँ पुगेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले भने– ‘अहिले हामी स्वास्थ्यकर्मीको टोलीसहित गाउँ–गाउँमै आएका छौं । झाडापखलाबाट मृत्यु भएको हो वा विषाक्त खानाबाट मृत्यु भएको हो त्योबारे अनुसन्धान गरिरहेका छौँ ।’