काँग्रेस–एमाले गठबन्धनले जनतामा नयाँ आशा जगायो : महासचिव पोखरेल


सेतोखरी सेतोखरी   सोमबार, भदौ १७, २०८१
काँग्रेस–एमाले गठबन्धनले जनतामा नयाँ आशा जगायो : महासचिव पोखरेल

नेपालगन्ज १७ भदौ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली काँग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन भएपछि आम जनतामा नयाँ किसिमको आशा र उत्साह देखिएको बताएकाछन् ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि गठबन्धन बनेको दाबी गरे ।

महासचिव पोखरेलले भने,‘संविधान र कानूनमा समयानुकूल सुधारका लागि राजनीतिक रूपमा अनुकूलता रहेको छ, जनताले आशा र अपेक्षा पनि गरेका छन् ।’ राजनीतिक अस्थिरताले देश विकासमा अवरोध भएको भन्दै उहाँले राजनीतिक पार्टी बलियो हुन आवश्यक रहेकोमा जोड दिए । आर्थिक विकास र समृद्धिका लागि विगतमा माओवादीसँग पार्टी एकता गरिएको भए पनि असफल भएको बताए ।

महासचिव पोखरेलले १० औं महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदीप ज्ञवालीले मार्क्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यस्तै एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्ने एमाले बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरि १५० जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य शान्ति ढकाल, केन्द्रिय सदस्य सुर्य ढकाल, मोहम्मद हारुन, पशुपति दयाल मिश्र, केन्द्रिय सल्लाहकार दलबहादुर सुनार लगायतको सहभागीता रहेको सचिव बलराम भट्टराईले बताए ।

यसैबीच एमाले बाँकेले जिल्ला कमिटी सदस्यको डिजिटल परिचयपत्र बनाइ जिल्ला कमिटी बैठक र कार्यक्रममा अनिवार्य गरेको छ ।