नरैनापुरमा चारमध्ये तीन जनाको झाडापखलाबाट मृत्यु भएको पुष्टि

विरामी भएको दुई दिनमै उनीहरुले ज्यान गुमाए, झाडापखलाबाट थप ६ जना विरामी : स्वास्थ्य कार्यालय बाँके


विजय मल्ल विजय मल्ल   सोमबार, भदौ १७, २०८१
नरैनापुरमा चारमध्ये तीन जनाको झाडापखलाबाट मृत्यु भएको पुष्टि

नेपालगन्ज १७ भदौ : बाँकेको नरैनापुरमा ज्यान गुमाउने चार जनामध्ये तीन जनाको झाडापखलाबाट मृत्यु भएको स्वाथ्य कार्यालय बाँकेले पुष्टि गरेकोछ । भने अर्का एक जनाको मृत्युको कारण खुल्न सकेको छैन । 

स्वास्थ्य कार्यालय बाँकेले सोमबार नरैनापुर गाउँपालिका झाडापखला रोगको प्रकोप सम्बन्धी स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुुराको पुष्टि गरेको हो । यसअघि स्वास्थ्यकर्मीले झाडापखालाबाट मृत्यु भएको हुन सक्ने आशंका गरेपनि त्यसको आधिकारिक रुपमा पुष्टी हुन सकेको थिएन ।

यो पनि पढ्नुहोस् नरैनापुरमा डेढ वर्षीया बालिकासहित चारजनाको मृत्यु शंकास्पद

भारतीय सीमासँग जोडिएको उक्त गाउँमा रहेका उनीहरुको फरक–फरक मितिमा मृत्यु भएपछि घटना शंकास्पद देखिएको थियो ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

फरक–फरक मितिमा एउटै गाउँका चार जनाको मृत्यु भएपछि सोमबार विहान बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँके, खानेपानी र चिकित्सकसहितको टोली औषधीसहित त्यहाँ पुगेका थिए ।

Narainapur_jhadapakhala-3-1725282911.jpg
स्वास्थ्यकर्मीसहित गाउँमै पुगेको उक्त टोलीले उनीहरुको झाडापखलाबाट मृत्यु भएको हो वा विषाक्त खानाबाट मृत्यु भएको हो भन्नेबार अनुसन्धान गरेको थियो । अन्ततः चार जनामध्ये तीन जनाको झाडापखलाबाट मृत्यु भएको पुष्टि भयो भने अर्का एकजनाको मृत्युको कारण पत्ता लागेको छैन । 

स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख, वरीष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाहीले भने–‘मृत्यु भएका चारजना मध्ये तीन जनामा समान लक्षण, चिन्ह पाइएको थियो । अर्का एक जनाको लक्षण र चिन्ह फरक थियो ।’  उनीहरुको उपचारका क्रममा र उपचारका लागि लैजादैँ गर्दा मृत्यु भएको थियो । चारजनाको मृत्यु हुँदा झाडापखलाबाट थप ६ जना विरामी भएका छन् । 

शाहीका अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर–३, गेग्ली निवासी २६ वर्षीय उषा पासीको यही भदौ ११ गते मृत्यु भएको थियो । यस्तै सोही ठाँउकी ६५ वर्षीया काम्ती पासीको १४ गते र एक वर्षीया बालिका नन्दनी पासीको १६ गते मृत्यु भएको थियो । यस्तै १० वर्षीय युसुफ अलि शेषको १२ गते मृत्यु भएको थियो ।

मृतक तीनै जना पासीहरुमा विरामी भएपछि साझा लक्षण वान्ता र झाडापखाला, पेट दुख्ने र जलवियोजन देखिएको थियो । भने उनीहरुले विरामी भएको दुई दिनमै ज्यान गुमाएको स्थलगत अनुगमनबाट पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख शाहीले बताए । 

शाहीका अनुसार युसुफमा ९ गते पहिलो लक्षण देखिएको थियो । उनीमा ज्वरो, जोर्नी दुख्ने, शरीर दुख्ने, तल्लो खुट्टा नचल्ने लक्षण देखिएको थियो । भारत श्रावस्तीको भिंगा बजारको प्राइभेट क्लिनिकमा उपचार गर्न जाने क्रममा १२ गते मृत्यु भएको थियो ।

झाडापखलाबाट गेग्ली गाउँको दुई वटा घर प्रभावित भएको शाहीले बताए । उनका अनुसार ती दुई वटा घरका परिवारहरुको पानीको श्रोत एउटै नल्का(ह्याण्ड पम्प) रहेकोछ । झाडापखला त्यही पानीबाट फैलिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी झाडापखला कसरी फैलिएको भन्ने विषयमा अनुसन्धान भइरहेकोछ ।

‘ती प्रभावित दुईवटै परिवाले एउटै धाराको पानि खाने गरेको, धाराको पानीको श्रोत र धारा बाहिरको अवस्था फोहोर भएको र पानी जमेको पाइयो । उनीहरुले कुवाँ (इनार) नदी तथा पोखरीको पानी नखाएको पाइएकोछ’ शाहीले भने ।

Narainapur_jhadapakhala-2-1725282953.jpg
 

‘योबीच विरामीहरुले सामान्य खाना दालभात र आँपको अचार खाएको पाइएकोछ । उनीहरुले माछामासु तथा दुग्धजन्य पदार्थ नखाएको पाइएकोछ ।’ शाहीले अगाडी थपे–‘झुपडी बस्तीहरु भएको उक्त बस्तीको वातावरणीय स्वास्थ्य अवस्था कमजोर र प्रदुषित रहेको पाइएकोछ ।’ विरामीहरुमा देखिएको साझा चिन्ह र लक्षणहरु वान्ता र झाडापखाला, पेट दुख्ने र जलवियोजन रहेको छ ।

झाडापखलाबाट नरैनापुर गाउँपालिका वडा नम्बर–३ गेग्ली गाउँ थप ६ जना विरामी भएकाछन् । विरामी हुनेमा ९ वर्षीया रञ्जना पासी, ५ वर्षीय रितेश पासी, ३० वर्षीया निर्मला देवि पासी, ६५ वर्षीया इत्रजा पासी, ७० वर्षीया हिरामती पासी र ३६ वर्षीया छोटेलाल पासी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ । 

विरामी मध्ये रितेश पासीको भेरी अस्पतालमा उपचाररत रहेको अन्य विरामीहरुको भारत श्रावस्ती, भिंगा बजार तथा नरैनापुरको स्थानीय क्लिनिकहरु र सोही गाउँमा स्थानीय तहका स्वास्थ्यकर्मीहरुबाट उपचार गरि अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।