२-२ दिनको फरकमा परिवारका तीन जना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

शोकमा गेगली गाउँ


सेतोखरी सेतोखरी   मंगलबार, भदौ १८, २०८१
२-२ दिनको फरकमा परिवारका तीन जना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

नेपालगन्ज १८ भदौ : बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी भदौ १० गतेदेखि बिरामी परिन् । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि नै उनको मृत्यु भयो ।

श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । यस्तै लक्षणबाट संक्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो । त्यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भयो ।

यो पनि पढ्नुहोस् नरैनापुरमा चारमध्ये तीन जनाको झाडापखलाबाट मृत्यु भएको पुष्टि

२-२ दिनको फरकमा परिवारका ३ जना सदस्य गुमाउनु परेपछि यतिबेला श्यामलाल विक्षिप्त छन् । ५ दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उनी अहिले घरको बाहिरै टोलाएर बस्छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

‘सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो, घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ’, उनले भने, ‘स्वास्थ्य सस्थामा लैजान पनि नपाउँदै घरमै तीनजनाको निधन भयो ।’ श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखको पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन् ।

गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताउनुभयो । स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गरे ।

स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरणका लागि पियुस उपलब्ध गराएको उनले बताए । अचानक पखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको मृत्यु भएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख व्यहोर्नुपरेको छ ।

यो पनि पढ्नुहोस् नरैनापुरमा डेढ वर्षीया बालिकासहित चारजनाको मृत्यु शंकास्पद

श्यामलालको एकै घरको तीनजनासहित गेगली गाउँमा एक हप्ताको बीचमा चारजनाको मृत्यु भएपछि सोमबार बिहानदेखि नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

तीन सय ६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीनजनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए । ‘झाडापखालाको जोखिमको जानकारी पाउनासाथ हामी यहीँ छौं, अहिले अवस्था सामान्य छ’, उनले भने, ‘स्वास्थ्य जाँचका क्रममा झाडापखाला देखिएका तीनजनामध्ये दुईजना अहिले उपचारपछि घर फर्किनुभएको छ भने एकजनालाई भेरी अस्पतालमा पठाइएको छ ।’

भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखालाबाट भदौ १२ गते स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको निधन भएको थियो । भदौकै १४ गते ६५ वर्षीया शान्ति पासी र १६ गते आइतबार १२ महिनाकी बालिका नन्दनी पासीको मृत्यु भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए ।

उनले मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाको असरका कारण झाडापखालाको आशंका गरिएको बताए । युसुपमा ज्वरो आउने समस्या पनि देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।

झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा जाँचका लागि आएका तीन सय ६५ नागरिकलाई स्वास्थ्य अवस्थाअनुसार जीवनजललगायत औषधि वितरण गरिएको उनले जानकारी दिए ।

स्थानीय ताज मोहम्मद खानले अझै पनि गाउँका मानिस बेलैमा उपचार गर्न स्वास्थ्य संस्था नगई घरेलु विधि अपनाउँदा अकालमै ज्यान जाने अवस्था रहेको बताए । -रासस