बाहिरी जिल्लाबाट बसाईसराई गरि आउने कोहलपुरमा धेरै


सेतोखरी सेतोखरी   मंगलबार, भदौ १८, २०८१
बाहिरी जिल्लाबाट बसाईसराई गरि आउने कोहलपुरमा धेरै

नेपालगन्ज १८ भदौ : बाँकेको कोहलपुरमा बसाईसराई गरि आउनेको संख्या जिल्लामै सबैभन्दा बढी पाइएकोछ ।

जिल्लाका आठ पालिकामध्ये कोहलपुरमा जिल्लाबाहिरबाट बसाईसरी आउनेको संख्या बढी पाइएको हो । पछिल्लो समय यहाँ अन्य पालिकाभन्दा बढी बसाईसरी आउने गरेकाछन् । यसले कोहलपुरको जनघनत्व मात्र बढाएको छैन आर्थिक सामाजिक लागायतको क्षेत्र चलयमान गराएकोछ ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर २०३९ परिवार बाँके आएका छन् । २०३९ परिवारका ६११० जना सदस्य जिल्लाका विभिन्न पालिकामा आएका हुन् । त्यसैगरी बाँकेका ९१८ परिवारका २६४८ जना सदस्यले जिल्ला छाडेर अन्यत्र गएको तथ्यांकछ ।

गत आर्थिक वर्षमा बाहिरी जिल्लाबाट बाँके जिल्लामा बसाइँसराइ गरेर आउनेको सङ्ख्या सबैभन्दा धेरै कोहलपुरपछि नेपालगन्ज, बैजनाथ र खजुरा रहेको छ । कोहलपुरमा गत आर्थिक वर्षमा ७६१ परिवारका २१६४ जना नागरिक बसाइँसराइ गरेर आएको कोहलपुर नगरपालिकाको तथ्यांकले देखाउँछ । उक्त वर्षमा २५४ परिवारका ६९९ जना सदस्यले बसाइँ सरेर अन्यत्र गएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा गत आर्थिक वर्षमा ५३३ परिवारका १६७८ जना सदस्य बसाइँ सरेर आएको नेपालगन्ज उपमहानगरपालिकाका पञ्जीकरण शाखाको तथ्यांकमा उल्लेखछ । उक्त वर्षमा नेपालगन्जबाट ३१२ परिवारका ९६८ जना सदस्यले बसाइँ सरेर बाहिरी जिल्ला गएका हुन् ।

यस्तै बैजनाथमा गत आवमा ३६६ परिवारका ११५६ जना सदस्य बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएको र १४६ परिवारका ४०० सदस्यहरू बसाइँ सरेर अन्यत्रै गएको पञ्जीकरण शाखामा दर्ज भएकोछ ।

खजुरा गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार २४४ परिवारका ७३३ जना सदस्यहरू बसाइँसराइ गरेर आएका छन् । भने उक्त आवमा ९७ परिवारका २८६ जना सदस्य अन्यत्रै बसाइँ सरेर गएका छन् ।

डुडुवा गाउँपालिकामा गत आवमा बसाइँ सरेर कोही पनि नआएको पाइएकोछ । उक्त आवमा ४ परिवारका १६ जना सदस्य बसाइँसराइ गरेर बाहिर गएका छन् । 

यसैगरी, जानकी गाउँपालिकाका पञ्जीकरण शाखाकामा दर्ज भएको तथ्यांक अनुसार गत आवमा १ परिवारका ४ जना सदस्य बसाइँसराइ गरेर आएका छन् भने २ परिवारका ६ जनाले बसाइँ सरेर बाहिर गएका छन् ।

नरैनापुरमा १५ परिवारका ४४ जनाले बसाइँ सरेर आएको र ६ परिवारका १९ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको पञ्जीकरण शाखामा तथ्यांक छ ।

आर्थिक वर्ष २०७९–०८० मा कोहलपुरमा १३३६ परिवारका ४०७४ जना, नेपालगन्जमा ९२५ परिवारका ३०१५ जना, बैजनाथमा ५३५ परिवारका १८७४ जना, खजुरामा ३५४ परिवारका ११७६ जना, राप्तीसोनारीमा २५७ परिवारका ७८४ जना, डुडुवामा दुई परिवारका ८ जना, जानकीमा ३ परिवारका १२ जना र नरैनापुरमा १७ परिवारका ६४ जना गरी कुल ३४२९ परिवारका ११००७ जना बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आएका थिए । 

त्यसैगरी कोहलपुरबाट ५२८ परिवारका १६१३ जना, नेपालगन्जबाट ५२२ परिवारका १५९५ जना, बैजनाथबाट २३७ परिवारका ७५० जना, खजुराबाट २१४ परिवारका ७२५ जना, राप्तीसोनारीबाट १७७ परिवारका ५७६ जना, डुडुवाबाट ४ परिवारका १८ जना, जानकीबाट ११ परिवारका ३८ जना र नरैनापुरबाट ११ परिवारका ५१ जना गरी कुल १७०४ परिवारका ५३६६ जनाले बसाइँसराइ गरेर अन्यत्र गएको तथ्याङ्क रहेको छ । 

आर्थिक वर्ष २०७९–०८० मा भन्दा गत आर्थिक वर्षमा बसाइँसराइ गरेर आउने र जानेको सङ्ख्यामा कमी पाइएको छ । गत आर्थिक वर्षमा भन्दा अघिल्लो आर्थिक वर्षमा जिल्लामा बसाइँसराइ गरेर आउने तथा जानेको सङ्ख्या दोब्बर रहेको थियो । उक्त आर्थिक वर्षमा ३४२९ परिवारका ११००७ जना सदस्य जिल्लामा बसाइँसराइ गरेर आएका थिए भने १७०४ परिवारका ५३६६ जना सदस्यले जिल्ला छाडेर अन्यत्र बसाइँसरेर गएका थिए ।