‘सब कुरा नक्कली बनायो चाईनाले, मै राम्री हुँ की झुक्कायो ऐनाले’


ममता थापा ममता थापा   शुक्रबार, भदौ २१, २०८१
‘सब कुरा नक्कली बनायो चाईनाले, मै राम्री हुँ की झुक्कायो ऐनाले’

नेपालगन्ज २१ भदौ : ‘सब कुरा नक्कली बनायो चाईनाले, मै राम्री हुँ की झुक्कायो ऐनाले’ यो गीतको बोलीले धेरै कुरा समेटेको छ र यो गीतको बोल जस्तै अहिले बजारमा पाईने धेरै जस्तो सामानहरु चीनबाट आयात गरेर हाम्रो नेपाली बजार बाचिरहेको छ ।

चीनले उत्पादनगर्ने सामाग्रीहरु सस्तो भएकै कारण र मुल्य अनुसार मुल्य संग चितmबुझने खालको भएकै कारण आज नेपालमा मात्र नभएर विश्व बजारमै कडा प्रतिस्पर्धा गरेर छिमेकी मुलुक चीनले विकसित राष्ट्रमा आफुलाई टीकाउन सफल भएको छ ।

चीनबाट सामानमात्र आयात भएन संसारमै सामाजिक संजालमा आमुल परिर्वतन ल्याउन सफल टिकटक पनि चीनमै बनेको हो । सामाजिक संजालले असर पारेको यस पटक तीजको व्यापार र सौन्दर्यकर्मीको गुनासो पस्किने प्रयास यो लेखमा प्रयास गरेका छौं ।

भाद्र महिना लागेसंगै नेपाली बजारमा चहलपहल बढ्ने गर्छ किनकी चाडपर्वको सुरुवात हुने गर्छ । हिन्दु धर्मावलम्बीहरुको धेरै चाडपर्व भएका कारण बजारमा व्यापार बढ्ने गर्दछ । यिनै चहलपहलको बीचमा सबैभन्दा केन्द्र बिन्दुमा पर्ने गर्छ हरितालिका तीज । महिलाहरुको विशेष चासोको विषय रहेको तीजमा धर्म, पुजा पाठ, खानपिन, पहिरन र सुन्दरताका कुराहरु जोडिन्छन् । र, यी सबै कुरामा सबै भन्दा महत्वपुर्ण कुरा रहन्छ सुन्दरतासंग जोडिएको कस्मेटीक प्रयोग र ब्युटी पार्लर । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

सौन्दर्यकर्मी, सिलाई पेशामा आबद्ध, जुत्ता पसल, कस्मेटीक पसल, ब्याग पसल र सुन पसलका व्यापारी व्यस्त हुने समय नै तीज हो ।  आफु राम्री भएर अरुलाई राम्री बनाउने पेशा गरिरहेका व्यवसायीहरुको भित्री संर्घष र परिर्वतनका कुरा गरौं ।

उमेरले ३५ लागेकी कोहलपुर निवासी ग्ल्यामर ब्युटी पार्लरकी टीका नेपालीले ३ वर्ष पहिले श्रीमान्ले सीप सिक र आफु पनि आत्मनिर्भर बन नभनेको भए आज उनी यो स्थानमा नहुने बताउँछिन् ।

विवाह अगाडी पारीवारिक अवस्था निकै कमजोर, विहान ५ बजे उठेर घरघरमा, पसल, कलेजमा पत्रिका बाढेर त्यही कलेजमा दिउँसो पढ्न जाने बताउँने टिकाले कोभिडले लकडाउन भएको बेलामा विहान ४ बजे उठेर कोहलपुरको कृषि मेलामा तरकारी किनेर दिनभरि तरकारी बेचेर जिविकोपार्जन गरेको बताईन् । 

संर्घषले आफु आत्मनिर्भर हुन जरुरी रहेको बताउने विवाहपछि केही समय घरमै बसेपनि एउटा सन्तान भएपछि भने श्रीमानले नै नेपालगन्ज उपमहानगरपालिकामा रहेको बकरिया ब्युटी पार्लरमा ६ महिनासम्म तालिम लिएर आफनो पसल खोल्न प्रेरणा दिएको बताउँछिन् । 

‘तालिमपछि पसल खोल्ने बेला मसंग जम्मा बीस हजार थियो, घरबेटीलाई दश हजार दिए, फर्निचरलाई दश हजार दिएर ४ लाख पचास हजार ऋण खोजेर पसल सुरु गरेको मैले मेरो पहिलो कमाईले आफुलाई ११ आनाको सुनको सिक्री किनेको छु ।’ उनले विगत सम्झदै भनिन् –‘अहिलेसम्म १५ जनालाई तालिम दिई सकेकोछु । अहिले आफू र आफनो परिवारको जिविकोपार्जन भनेकै यही पार्लर हो ।’

दलित कोटाबाट केलजमा छात्रावृत्ति पाएर पढ्न जाँदा बुवाआमासंग किताब किनिदिने पैसा नहुँदा कलेजको लाईब्रेरीबाट किताब लिएर ती किताबको पानाहरुलाई फोटोकपी गरी अध्ययन गरेको उनले सुनाईन् ।

तीज लागेसंगै ब्युटी पार्लरहरुको व्यस्तता बढेको होला भन्ने सन्दर्भमा भने उनले सामाजिक संजालमा आएको परिवर्तनले ५० प्रतिशत व्यापार हराएको सुनाईन् । ‘अहिले त जो बोल्न सक्यो उस्को बिक्छ र सबैजना सामाजिक संजालको प्रभावले गर्दा ग्राहकहरु धेरै आउदैनन् ।’ उनले ब्यापारव्यवसायको कुरा गर्दै अगाडी थपिन्–‘पसलमा कति ग्राहकहरु त टीकटकमा प्रत्यक्ष प्रसारण देखेर आएको र आफुले पनि बेला बेलामा टीकटकमा लाईभ बस्दै काम गरेको भिडियो बनाउने गर्छु ।’

८ वर्षको एउटा छोरा, वैदेशिक रोजगारीबाट फर्केर अहिले घरमै बसेका श्रीमान र आफु यो व्यवसायबाट खुसी भएको उनको प्रतिक्रिया छ ।

यस्तै १५ वर्ष पहिले कोहलपुर नगरपालिकामा पहिलो श्रीमान्संगको सम्बन्धलाई समाप्त गर्दै भविष्य सुनिस्चित गर्न सीप सिकेर वैदेशिक रोजगारीका लागि सौन्दर्य व्यवसायमा आएकी उनी सौन्दर्यकला व्यवसायी संघ कोहलपुर नगरकी अध्यक्ष यमुना पौडेल शाहीको भने सामाजिक संजालले पारेको प्रभावप्रति फरक धारणा छ ।

‘सामाजिक संजालको हावाले एक पटक अनुभवका लागि ग्राहकहरु सस्तो ठाउँमा जान्छन्, तर राम्रो मार्ग निर्देशन र स्वास्थ्यमाथि लगानी भएपछि मान्छेहरु अहिले धेरै सचेत भईसकेका छन्’ यमुना भन्छिन्–‘नेता होस वा चिकित्सक, ड्राईभर होस वा पुलिस अहिले राम्रो व्यतिmत्व विकास र आर्कषक देखिनु नै पर्छ भन्ने कुरा सबैले बुझि सकेको र यो पेशाको भविष्य अझै अब्बल छ ।’

पहिला यो पेशालाई राम्रो नजरले नहेरिने बताउने उनले अहिले भने मान सम्मान पैसा यसमै रहेको बताईन । पहिलो विवाह सफल नभएर विदेश जानलाई सिकेको उनको सोँच तालिमपछि भने कमाई नेपालमै रहेको र यसमै भविष्य छ भनेर यतै बसिन् । पछि दोस्रो विवाह गरेर नौ सय जनालाई तालिम दिएकी उनले विगत १३ वर्षदेखि २ जनालाई रोजगारिसमते दिएकीछन् । 

दोस्रो विवाह गरेपछि श्रीमान् कामको शिलशिलामा बाहिर हुँदा नानाथरी सुनाउने सासुले अहिले फुर्सदमा बसेका महिलाहरुलाई मेरो बुहारीकोमा गएर सीप सिक भन्ने गरेको कुरा उनले बताइन् ।

कोहलपुर नगरभित्र निकै व्यस्त रहने न्यूरोडमा रहेको म्यारीगोल्ड ब्युटी पार्लर तथा ट्रेनिंग सेन्टरमा अहिले तीजको बेला त्यति व्यस्तता नरहे पनि सीप सिक्न आएका विद्यार्थिले पार्लर भरि भराउ छ ।

प्राविधिक युगले मानिसहरुको जिविनमा मात्र परिवर्तन होईन सोचमा समेत परिवर्तन ल्याएको छ । पहिलेको समयमा सौन्दर्यकला पेशामा दुख पाएका, पछाडी परेका, शिक्षामा पछाडी परेकाहरु आउने गर्दथे भने अहिले शिक्षित, पढेर, बुझेर वैदेशिक रोजगारीमा जानका लागि वा अनलाईन पेशा सुरु गर्नका लागि सौन्र्दयकला पेशामा आउने गर्दछन् । देखावटी, देखाशिखि गरेर अगाडी बढ्नु पर्ने आजको यो प्रतिस्पर्धात्मक युगमा विकृतिले मान्छे बिग्रे पनि सीप भने बिग्रेको छैन् ।