नेपालगन्ज २१ भदौ : सर्वोत्कृष्ट लघु उद्यमी अनुजा सिंह राठौरलाई लुम्बिनी प्रदेशबाट यसवर्षको ‘डा. हरिहर देव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेशभरी रहेका करिव एक लाख महिला लघु उद्यमीलाई पछाडी पार्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ फुल्टेक्रा निवासी अनुजाले नगद ५० हजारसहित प्रमाणपत्र प्राप्त गरिन् ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट कर्जा लिएर २०७५ सालमा नेपालगन्ज विपी चोकमा ‘अनुजा डेरी उद्योग’ सञ्चालन गरेकी उनले अहिले पाँच जनालाई रोजगारी दिइरहेकी छन् । ‘नेपालका लघुवित्तका पिता’ भनेर चिनिने निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक डा. हरिहरदेव पन्तको नवौं स्मृति दिवसको अवसरमा शुक्रबार उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपालगन्जमा शुक्रबार एक समारोहकाबीच प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे ।
प्रमाणपत्रमा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष देवेन्द्रबहादुर राउत, सचिव यादवराज पाण्डे र कार्यकारी अधिकृत अञ्जु पाण्डेको हस्ताक्षर रहेको छ ।
नगरप्रमुख बिष्टले पुरस्कार हस्तान्तरण गर्दै निर्धन उत्थान जस्ता धेरै लघुवित्तले महिलाहरुको जीवनस्तर माथी उठाएको बताए । उनले भने, ‘केही लघुवित्तले गरेका गलत कामको दोष सबै माथी थोपार्नु उचित हुदैन ।’
पुरस्कार ग्रहण गरेपछि अनुजाले पुरस्कारले आफुलाई काम गर्न थप उर्जा मिलेको बताइन् । ‘सानो पुँजी लगाएर पनि उद्यमी बन्न सकिदोँ रहेछ, यो पुरस्कारले मलाई काम गर्न थप उर्जा दिएको छ,’ उनले भनिन् । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको बाँकेस्थित उदयपुर शाखामा आबद्ध रहेकी उद्यमी सदस्य अनुजा फुल्टेक्रा महिला स्वावलम्बी समुहको सदस्य हुन् ।
पुरस्कार वितरण कार्यक्रमकी सभाअध्यक्ष एवम नेपालगन्जकी अगुवा महिला उद्यमी कल्पना शर्माले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट आफुले पनि १० हजार कर्जा लिएर उद्योग÷ब्यवसाय सुरु गरेको बताइन् ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धक मिनबहादुर हमालले मूल्यांकनका विभिन्न आधारबाट अनुजा लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट लघु उद्यमी घोषित भएको बताए । लुम्बिनी प्रदेशभरी ४१ वटा शाखा रहेकाछन् ।
उनका अनुसार २०४७ सालमा स्थापना भएको उक्त संस्था लिमिटेडमा हाल देशभर करिव ४ लाख महिला उद्यमी आवद्ध रहेका छन् । बाँकेमा उदयपुर, परसपुर, राँझा, फत्तेपुर, खजुरा र कोहलपुर गरि ६ वटा शाखामा १८ हजार समुह सदस्य छन् ।
पुरस्कार वितरण कार्यक्रममा प्रहरी निरीक्षक हिमालय शाह, नगर कार्यपालिका सदस्य संगीता योगी, नागरिक राष्ट्रिय दैनिकका संवाददाता अर्जुन ओली, सेतोखरी डटकमका कार्यकारी सम्पादक विजय मल्ल, वागेश्वरी क्याम्पसका प्रध्यापक जिवनसिंह राठौर लगायत अतिथीको उपस्थिती रहेको थियो ।